बझाङ । हिजो मङ्गलवार अपरान्ह दुर्घटना मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर हेलिकप्टरमार्फत धनगढीबाट बझाङ ल्याइएको छ ।
धनगढीमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरेपछि बझाङ ल्याइएको पार्थिव शरिर आगामी शनिवारसम्म जिल्ला अस्पताल सीमखेतमा राखिनेछ ।
मन्त्री सिंहका कान्छा छोरा इजरायलबाट आउन समय लाग्ने भएकाले पार्थिव शरीर चार दिन जिल्ला अस्पतालमा राखिने नेपाली काँग्रेस बझाङका नेता पाण्डव थापाले जानकारी दिनुभयो ।
मन्त्री सिंहका छोरा पुगेपछि शनिवार बझाङमा पनि अन्तिम श्रद्धाञ्जली कार्यक्रमपछि दाहसंस्कार गरिने नेता थापाले बताउनुभयो ।
मन्त्री सिंह पत्नी अमृतादेवी सिंहको शव भने हिजोदेखि नै जिल्ला अस्पतालमा राखिएको छ ।
भाउजू जयादेवी सिंहको शव आफन्तले जिल्ला अस्पताल सीमखेतबाट महेन्द्रनगर लगिसकेको नेपाली काँग्रेस पूर्व पार्टी सभापति हर्कजंग बहादुर सिंहले बताउनुभयो ।
सिंहको निधनको शोकमा सदरमुकाम चैनपुरका व्यापारीले आज पूर्ण रूपमा पसल बन्द गरेका छन् । डडेल्धुराबाट गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सिंह चढेको मोटर दुर्घटनामा परेको थियो ।
सुपप्र ०१ ००१ झ ४८० नम्बरको जिप हिजो दिउँसो साढे १ बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।
मन्त्री सिंहका गाडी चालक धर्मराज जोशी र पीएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८०, १४:२३