काठमाडौँ । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गरेको अभियोग लागेकाहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले बिहीबार निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चले मुद्दा फिर्ता गर्ने सरकारको निर्णयप्रति कारण देखाऊ आदेश पनि जारी गरेको छ।
सरकारले उपप्राध्यापक चलाउनेलाई कुटपिट गरेको अभियोग लागेकाहरू माथिको मुद्दा फिर्ता लिने निर्णय गत जेठ ३० गते गरेपछि चलाउनेले त्यसबिरुद्ध सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
सरकारको निर्णयको विरोधमा उहाँले त्रिभुवन विश्वविद्यालय परिसरमा अनसन पनि बसिरहनुभएको छ ।
उपप्राध्यापक चलाउनेलाई त्रिवि परिसरमै २०७७ साल असोज २० गते कुटपिट भएको थियो । आफूलाई नेविसंघ त्रिवि कार्यसमितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावललगायतले कुटपिट गरेको उहाँले बताउँदै आउनुभएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०, १८:१६