काठमाडौँ । भारतमा चलिरहेको १४ औँ साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज (शनिबार) भारतसँग खेल्दैछ ।
खेल बैंगलुरुको श्री कांतिराव रंगशालामा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।
फुटबलमा नेपाल र भारत चिर प्रतिद्वन्द्वीका रुपमा रहेका छन् । भारत प्रतियोगिताको साविक विजेता हो भने नेपाल उपविजेता हो ।
यो प्रतियोगितामा दुबै देशले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा नेपाल कुवेतसँग तीन एकले पराजित भएको थियो भने भारतले पाकिस्तानलाई चार शुन्यले हराएको थियो । नेपाल समूह ए मा तेस्रो स्थानमा छ । भारत शीर्ष स्थानमा छ ।
नेपाल र भारतबिच अहिलेसम्म आधिकारिक २३ खेल खेलेकोमा भारतले १६ खेल जितेको छ । नेपालले मात्र दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएका छन् ।
प्रतियोगितामा यसपटक नेपाल, आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्स सहभागी छन् । कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा प्रतियोगितामा भाग लिएका हुन् ।
नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८०, ०९:३२