काठमाडौँ । आज (शनिबार) वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले भनेको हो ।
मकवानपुरको भोर्लेनी र आसपासको क्षेत्रमा केही घण्टायता ठूलो पानी परिरहेकाले कोखाजोर खोलालगायत उक्त क्षेत्र भएर बहने स–साना खोलाहरूमा पनि आकस्मिक बाढी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस्तै, कास्कीको पोखरा, छोमरोङ, जुम्लेटीलगायत क्षेत्रमा पनि भारी वर्षा भएको छ । मोदी खोला, मार्दी खोलालगायत सो क्षेत्र भएर बग्ने स–साना खोलामा आकस्मिक बहाव हुने सम्भावना रहेको छ ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८०, ०९:४९