पर्वत । पर्वतको पैयूँ गाउँपालिका वडा नं. ७ भोर्लेलाई बालमैत्री वडा घोषणा गरिएको छ ।
बालअधिकार, बाल बचाउ, बाल सहभागिता र बाल विकाससम्बन्धी ३९ वटा सूचक पूरा गरेपछि एक समारोह आयोजना गरी भोर्लेलाई जिल्लाको दोस्रो बालमैत्री वडा घोषणा गरिएको हो । दुई वर्षअगाडी जिल्लाको मोदी गाउँपालिका वडा न. ८ चित्रेलाई पहिलो बालमैत्री वडा घोषणा गरिएको थियो ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले वडालाई बालमैत्री वडा घोषणा गर्नुभएको हो ।
बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच सुनिश्चित गरी उनीहरूलाई बौद्धिक र क्षमतावान बनाउन गर्भअवस्थादेखि नै सुनौला हजार दिनलाई सबैले विशेष ध्यान दिनुपर्नेमा लम्सालले जोड दिनुभयो ।
वडाभित्रका ३ सय ९६ घरधुरी, विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय र सार्वजनिक स्थलमा बालमैत्री संरचना र पूर्वाधार निर्माण गरिएको र बालमैत्री वातावरण निर्माण गरिएको वडाध्यक्ष भीमवहादुर गुरुङले बताउनुभयो ।
बालमैत्री वडा घोषणाका लागि २०७४ सालदेखि नै अभियानका कार्यक्रमहरू सञ्चालन हुँदै आएका थिए । पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले सिँगो गाउँपालिकालाई नै बालमैत्री घोषणा गर्ने तयारीमा आफूहरू रहेको बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, असार ९, २०७६, ०८:४९