मानिसका रुचि अनेक हुन्छन् । रुचि अनुसारको काम सबैले गर्न पाउँदैनन् । कतिपयलाई मन नलागेकै क्षेत्रमा पनि काम गर्नुपर्ने बाध्यता हुन्छ ।
भाषा र आनुवंशिक अध्येता नेदरल्यान्ड्सका नागरिक शोर्स फन द्रिम (जर्ज भान ड्रिम ) नेपाललाई दोस्रो घर झैँ ठान्नुहुन्छ । नठान्नु पनि किन, आफ्नो रुचिको क्षेत्रमा काम गर्न जो पाउनुभएको छ ।
नेपाली इतिहासको पनि अध्ययन गर्नुभएका भानले सन् १९८७ मा लिम्बू व्याकरणमा विद्यावारिधि गर्नुभयो । स्वीट्जरल्यान्डस्थित बर्न युनिभर्सिटीका प्राध्यापक द्रिम २०३९ साल यताको धेरै समय नेपालमै बिताइरहनुभएको छ । उहाँ लिम्बु र लोहोरूङ भाषाको खोज अनुसन्धानमा सक्रिय हुनुहुन्छ । यसबिचमा उहाँले भारतको सिक्किम र भुटानमा समेत मातृभाषाको जगेर्नाका लागि धेरै काम गर्नुभएको छ ।
जर्मनीमा विश्वविद्यालय अध्ययनका क्रममा प्राध्यापकहरूको सुझाव स्विकार्दै लिम्बु भाषाको अध्ययन गर्न आउनुभएका उहाँले लिम्बु व्याकरण नै तयार पार्नुभएको छ । लोहोरुङ भाषाको पनि व्याकरण तयार हुँदै छ । उहाँले सीआईएनसँग आफ्नो नेपाल यात्रादेखि भाषा र इतिहासको अध्ययनसम्मका रोचक कुराकानी गर्नुभएको छ ।
नामको रमाइलो प्रसङ्ग
George van Driem यो नामको उच्चारण एउटै हुँदैन । अङ्ग्रेजी उच्चारणलाई आधार मान्दा 'जर्ज भान ड्रिम' हुन्छ । हल्यान्डका नागरिक “डच” हरु यसलाई शोर्स फन द्रिम भनेर उच्चारण गर्छन् । यही नामका डच नागरिक ले २०३९ सालदेखि नेपालमा धेरै समय बिताउनुभएको छ । बिताउनुभएको मात्र होइन, उहाँ नेपालमा वर्षौँदेखि खास गरी लिम्बु र लोहोरूङ भाषाको क्षेत्रमा खोज अनुसन्धानमा सक्रिय हुनुहुन्छ ।
आपका नाम क्या हे भाइ साब् ? कसैले सोध्यो । कसैले के, धेरैले सोधे । 'शोर्स फन द्रिम' उहाँले भन्नुभयो । नाम नौलो थियो । धेरैले उच्चारण गर्नै अप्ठ्यारो माने । भनौँ जिब्रोले फड्कारेन । तर नाम त त्यही थियो । अंग्रजी उच्चारण 'जर्ज भान ड्रिम' भए पनि डच भाषामा त्यसको उच्चारण 'शोर्स फन द्रिम' नै हुन्थ्यो । धेरैले नबुझे पछि सुझाए– 'अरे भाइ ए कैसा नाम है ?' फेरि उनीहरूले नै भने 'आपका नाम सुरेश है ।' उहाँलाई गलफती गर्न मन लागेन । यो प्रसङ्ग थियो भारतको । सन् १९७८ को ।
१८ वर्षको हुँदा उहाँ भारत भ्रमणमा पुग्नुभएको थियो । अमृतसरदेखि महाबलिपुरम्सम्मको यात्रामा नामको समस्या समाधान गर्ने सजिलो तरिका उहाँले अपनाउनुभयो र बन्नुभयो सुरेश । ‘आखिर नाम मे क्या है ?’
नेदरल्याण्ड्समा जीवनविज्ञान पढिरहेका बेला एक सेमेस्टरको छुट्टी लिएर उहाँ टर्की, इरान, अफगानिस्तान, पाकिस्तान हुँदै भारत पुग्नुभयो । मा०वि०मा पढ्दै गर्दा बेलायत भ्रमणमा गएका बेला वेद, उपनिषद्, जस्ता ग्रन्थ र त्यहाँ उल्लेखित कथा र सन्दर्भ मात्र होइन रविशंकर, अलि अकबर खान, महापुरुष मिश्र जस्ता शास्त्रीय सङ्गीतका धुरन्धरहरूका गला र कलाले उहाँलाई त्यता तानेको थियो ।
काठमाडौँको पहिलो सम्झना
पहिलो पटक नेपाल आउने दिन उहाँलाई लिन काठमाडौँको गोथे इन्स्टिच्युटका सुशील श्रेष्ठले विमानस्थलमा एक जना सहयोगीलाई पठाउनुभएको थियो । २०३९ सालको कुनै दिन अहिलेको जस्तो सामाजिक सञ्जालमा तस्बिर हेरेर उहाँलाई चिन्न सक्ने सुविधा ती सहयोगीलाई थिएन । उहाँलाई चिन्न नसके पछि सहयोगीसँग उहाँको भेट भएन । सहयोगीले उहाँलाई चिन्न नसक्नुका कारण थियो उहाँले बोलेको नेपाली । ‘मलाई लिन गएको व्यक्तिले मैले नेपाली भाषा बोल्न सक्छ भन्ने सोचेकै थिएन रहेछ’, हाँस्दै उहाँले सुनाउनुभयो, ‘मैले नेपाली बोलेको सुनेपछि उहाँले यो खैरे त यस पहिले पनि नेपाल आइसकेको हुनुपर्छ भन्ने अनुमान लगाउनुभएछ, मैले पनि उहाँलाई चिनेकै थिएन ।’
त्रिभुवन विमानस्थलबाट उहाँ बस चढेर रत्नपार्क पुग्नुभयो । गाडीमा भाडा दिने बेला भयो । उहाँले नेपाली १ सयको नोट झिकेर दिनुभयो । सहचालकले गाली गरे । ‘त्यस बेला मसँग, त्यही एउटा नेपाली नोट मात्र थियो, गाडी भाडा सुका मोहरमा रहेछ, मलाई के थाहा सुका मोहर ?’
प्राध्यापकहरूले भनेको जस्तो काठमाडौँबाट तेह्रथुमको फेदाप पुगेर उहाँ त्यहाँ लिम्बु भाषाको अध्ययनमा सक्रिय हुनुभयो । लिम्बु भाषाकै सोधखोजमै रत्तिनुभयो । २०३९ साल यताको धेरै समय उहाँले यतै बिताउनुभएको छ ।
लिम्बु भाषाको अध्ययनको तारतम्य
उहाँको नेपाल आउँदाको प्रसङ्ग पनि कम्ती रमाइलो छैन । हल्यान्डबाट अध्ययनका क्रममा जर्मनीको किल विश्वविद्यालयमा पुग्दा समेत उहाँलाई नेपाल गएर यहाँका पुराना रैथाने भाषाबारे अध्ययन गरौँला भन्ने लागेको थिएन । विश्वविद्यालयमा आखिरी दिनहरूमा प्राध्यापकहरू भेर्नर भिन्थर र फ्रिच कोर्तल्यान्टले उहाँलाई नेपालमा जान खास गरी लिम्बु भाषाको अध्ययन गर्न सुझाउनुभयो । उहाँ गुरुको आदेश खुरुखुरु मानेर लुरुलुरु नेपाल आउनुभयो ।
त्यसमाथि उहाँको हँसिलो शैली र सकेसम्म अङ्ग्रेजी भाषा मिसिएला कि भनेर सचेततापूर्वक बोलिने नेपाली भाषाको जवाफ ।
प्राध्यापकहरूले नेपाल जाऊ भने पछि उहाँले नेपाली भाषाबारे अध्ययन थाल्नुभयो । नेपाली भाषा जानेर गए यहाँ धेरै सजिलो हुने उहाँको बुझाइ थियो । अर्कोतिर, भाषा अध्येता भएकाले नयाँ नयाँ भाषा सिक्नुको मज्जा त छँदै थियो । उहाँले बेलायतको स्कुल अफ अफ्रिकन एन्ड ओरियेन्टल स्टडीजको पुस्तकालयबाट क्लार्कको नेपाली सिक्ने पुस्तक र क्यासेट लिनुभयो । केही पुस्तक प्राध्यापक द्वयले पनि दिनुभयो ।
उहाँले उतै करिब ३ महिना नेपाली भाषा सिक्नुभयो । तर एक्लै । एक्लै भाषा सिक्ने ? अनि कोसँग बोल्ने ? हल्यान्डमा त्यस बेला नेपाली बोल्ने मानिस नभेटेपछि उपलब्ध भएका जति पुस्तकहरूबाट आफूले एक्लै नेपाली भाषा सिकेको उहाँ बताउनुहुन्छ । नेपाली सिके पनि त्यो मिल्यो कि मिलेन भनेर भनिदिने कोही थिएन ।
उहाँ जब त्रिभुवन विमानस्थलमा ओर्लनुभयो । नेपाली भाषा अध्ययनको पहिलो प्रयोगात्मक परीक्षा त्यहीँ गर्नुभयो । उहाँले विमानस्थलका कर्मचारीलाई नेपालीमै सोधिखोजी गर्नुभयो र उनीहरूले सोधेका प्रश्नको जवाफ दिनुभयो । ‘त्यस बेला म एकदमै बिग्रिएको नेपाली बोलिरहेको थिएँ होला’ उहाँ हाँस्दै सुनाउनुहुन्छ ।
जर्मनीका भ्भेर्नर भिन्थर र हल्यान्डका फ्रिच कोर्तल्यान्टले नेपाल गएर लिम्बु र भाषाहरुको ‘लिंग्विीसटिक सर्वे अफ इन्डिया’मा प्रकाशित छ । त्यस्तै दार्जिलिङमा बस्ने आर्चि बोल्ट क्याम्बल जो उनले पनि नेपाली भाषाको बारेमा केही लेखेका थिए । तर धेरै कुरा लेखिएको थिएन । सौन्दर्यशास्त्रीक प्राचीन रुप भेटिन्छ । त्यही भएर उहाँहरूले लिम्बु भाषालाई छानेको र आफूलाई थप अध्ययनका लागि नेपाल जान भनेको उहाँ बताउनुहुन्छ ।
अहिले त उहाँ नेपालीका साथै लिम्बु, दुमी, लोहोरुङलगायत भाषा बोल्नु पनि हुन्छ । बोल्नुभन्दा धेरै त उहाँ ती भाषाको ‘पितृ बुझाउने’ हुनुभएको छ । मातृभाषाको इतिहास र व्याकरणमा बर्सौँ अनुसन्धान गरेपछि उहाँले लिम्बु र दुमी भाषाका बेग्ला बेग्लै पुस्तक प्रकाशित छन् । थप परिमार्जनसहित लिम्बु भाषाको पुस्तकको नयाँ संस्करण प्रकाशन गर्ने तयारी छ र । लोहोरुङ भाषाको पुस्तक लेख्ने काम पनि धेरै सकिइसकेको छ । दुइटै किताब केही महिनापछि ललितपुरमा प्रकाशित हुनेछन् । यसबिचमा उहाँले सिक्किम र भुटानमा पनि स्थानीय मातृभाषाको अनुसन्धान र पुस्तक लेखनमा धेरै काम गर्नुभएको छ ।
आफ्नो भाषाको अर्थ
भाषा पुस्तासँगै सर्दै जानुपर्छ/जान्छ । तर, हाम्रो धेरै सन्दर्भमा भाषा सर्नेभन्दा पनि बिर्सने क्रम द्रुत गतिमा बढिरहेको छ । नेपालमा राष्ट्रिय भाषा नेपाली नै अवहेलनामा रहेको उहाँको निष्कर्ष छ । पछिल्लो पुस्ताका नेपाली नै नेपालीमा बोलेको बुझ्दैनन्, हल्यान्डबाट अहिले स्वीजरल्यान्डमा बसाइँ सरे पनि धेरै समय नेपालमै बस्ने उहाँ भन्नुहुन्छ, ‘मोबाइल नम्बर दिँदा अन्ठानब्बे पचहत्तर तेत्तीस सन्ताउन्न तेइस भन्दै नेपालीमा नम्बर भन्यो भने यो भनेको कति हो, 'अङ्ग्रेजीमा भन्नु न' भन्छन् । अनि पचहत्तरलाई 'सेभेन्टी फाइभ' भनेपछि बल्ल बुझ्छन् ।’
यो एकदमै चिन्ताको विषय भएको उहाँको भनाइ छ । आफ्नो भाषाप्रति गर्व गर्नुपर्ने बताउनुहुन्छ ।
भाषा भनेको केवल बोलीचाली वा सञ्चारको कुरा मात्र नभएको उहाँको निष्कर्ष छ । हरेक भाषाको आफ्नै पहिचान र परिचय मात्र होइन भाषाले सोच्ने तरिका र मनोविज्ञान नै नयाँ बनाउने यी भाषा शास्त्रीको भनाइ छ । त्यसले आफ्नोपन र आफ्नो सोचाइलाई चाहेकै जसरी टक्र्याउन सकिन्छ ।’ त्यसैले भाषा भनेको बुझ्ने कुरा मात्र होइन । नेपाली भाषाका कतिपय शब्द अरू कुनै भाषाबाट टक्र्याउन सकिँदैन, बुझाउन सकिँदैन । त्यसको साङ्गोपाङ्गो अर्थ मात्र लगाउन सकिन्छ । त्यसैले अर्को भाषा सिक्दा अर्को जीवनको अनुभव हुन्छ । नयाँ मानसिक संसारमा त्यो दृष्टि त्यो जीवनकै सोच्ने तरिका अर्कै हुन्छ । त्यसैले भाषा केवल बोल्ने कुरा मात्र होइन जीवनदृष्टि हो । त्यसलाई मर्न दिनु हुँदैन । यो उहाँको भनाइ ।
फन द्रिम भाषा बचाउने भनेको सरकार वा अन्य निकायले भन्दा पनि नागरिक स्वयमले नै बचाउनुपर्ने बताउनुहुन्छ । ‘सरकारले सहयोग गर्ने हो तर बोल्ने, प्रयोगमा ल्याउने त नागरिकले नै हो नि, उहाँको भनाइ छ घरपरिवारमा मातृ भाषाहरू बोल्नुपर्छ’ उहाँको सिधा भनाइ छ ।
अरू भाषा सिक्न मातृभाषा भुल्न पर्छ त ?
पर्दैन । उहाँ एक शब्दमा उत्तर दिनुहुन्छ । यसको उदाहरण युरोपमा राम्रो भएको उहाँ बताउनुहुन्छ । फ्रान्स, जर्मनी, स्वीजरल्यान्ड जस्ता देशमा मातृभाषालाई एकदमै महत्त्व दिइएको छ । उनीहरू आपसमा सकेसम्म आफ्नै देशको भाषा बोल्छन् । विदेशीसँग बोल्नुपर्ने बाध्यकारी अवस्थामा मात्र अङ्ग्रेजी चलाउँछन् । नत्र सकेसम्म आफ्नै देशको भाषा । नेपाल भारत जस्ता देशमा चाहिँ जानी नजानी अर्थात् कनीकुथी अङ्ग्रेजी बोल्ने क्रम बढ्यो । हिमालतिर शेर्पाहरूले आफ्नो भाषा बोल्न पढ्न छोडे बरु अङ्ग्रेजी सजिलो गरी बोल्छन् तर मातृभाषा बोल्दैनन्, पढ्दैनन् । उहाँले देखे भोगेको हाम्रो अवस्था ।
बौद्ध दर्शनलगायत नेपालका धेरै सांस्कृतिक उत्पादन देखेर जनताले आफैँ वा आफैँले आफ्नो सभ्यता र विज्ञानप्रति सम्मान र गौरव होइन हीनता पो बोध गरेका हुन् कि जस्तो लाग्ने गरेको फन द्रिम बताउनुहुन्छ । मातृभाषा तथा नेपाली भाषा नआएकोमा दुःख मान्नुपर्ने तर मान्दैनन् । ‘बरु अङ्ग्रेजी नआएकोमा दुःखी देखिन्छन् । नेपालको सभ्यता इतिहास संस्कृति भाषा सबै गौरव लायक छन् । तर, हाम्रो नेपालमा इतिहास पनि कम मात्र बोलिन्छ । कतिपय विद्यालयमा नेपाली भाषा वा मातृभाषा बोल्नै नपाइने नियम पनि बनाएका छन् । त्यस कारण नागरिकले नै धेरै काम गर्नुपर्छ । सरकारले पनि केही काम गर्न सक्छन् । जस्तो कि भुटानमा सरकारले जोङखा भाषा सबैको भाषा होइन तर राष्ट्रिय भाषा भएकाले त्यसको परीक्षा हुन्छ । अरू भाषा बोल्ने भारतमा कुनै व्यापारीले अङ्ग्रेजी हिन्दी बङ्गाली उर्दु लगायत बोले पनि आफ्नो मातृभाषा छोड्न नहुने’ फन द्रिम भन्नुहुन्छ ।
यस्तो बाध्यकारी ब्यवस्थाले भन्दा नागरिकले आफैँले जानेर बुझेर मातृभाषाको जगेर्ना गर्नुपर्ने हो बोल्नुपर्ने हो । तर, त्यस्तो भइरहेको छैन । यो दुःखद हो । तर अझै पनि समय भने सकिइनसकेको उहाँको बुझाइ छ । अङ्ग्रेजी वा अन्य भाषा सिक्न वा बोल्नु नराम्रो भए पनि त्यसको पछि लागे मातृभाषा नै भुल्नु चाहिँ ठुलो कमजोरी रहेको उहाँको भनाइ छ । ‘धेरै भाषा बोलेर नराम्रो केही छैन । १ दर्जन जति भाषा बोल्न लेख्न सक्ने उहाँ भाषा धेरै जान्दा केही घाटा नहुने बताउनुहुन्छ । तर अङ्ग्रेजीलाई काम चलाउनका लागि मात्र बोले भई गयो नि ।’
मातृभाषाको मिठास कुनै पनि भाषा सिकेर वा जानेर वा बोलेर प्राप्त नहुने उहाँको निष्कर्ष छ ।
पछिल्लो पुस्ताले मातृभाषाहरू जोगाउनुपर्छ । अङ्ग्रेजी बोल्ने भन्दैमा अर्को भाषा नभुल्नुस् । युवाले मातृभाषा बोल्दैनन् । यसो गर्नु त राम्रो भएन । मातृभाषा बोल्न नजान्ने हो भने म त्यो जातीको भन्न कसरी सकिन्छ । म डच भाषा बोल्न जान्दिनँ भने मैले म डच नागरिक हुँ भन्न कसरी सुहाउँछ र ? कम्तीमा आफ्नो भाषा बोल्न सक्नुपर्छ ।
मातृभाषा जोगाउन विद्यालयले समुदायले सङ्घ संस्थाले धेरै काम गर्न सक्ने उहाँ बताउनुहुन्छ । तर पनि सबैभन्दा ठुलो भूमिका चाहिँ नागरिक स्वयम्को भएको उहाँको सुझाव छ ।
नेपाली जनजातिहरू मंगोलियन होइनन्
नेपालमा जनजातिलाई मंगोलियन समुदायका भनेर भन्ने गरिन्छ । तर यो कुरा सत्य नभएको भाषाविद् र जीवविज्ञानका यी प्राध्यापकको ठोकुवा छ । उहाँ भन्नुहुन्छ, ‘नेपाली जनजातिहरू मंगोलियातिरबाट आएका होइनन्, यताबाट उता चाहिँ बसाइँ सर्दै गएका प्रशस्त प्रमाण भेटिएका छन् ।’
लिम्बु भाषा लोप हुन लागेको छ । नेपालको सबै भाषा यही अवस्थामा पुगेको जस्तो देखिन्छ । ट्रान्स-हिमालेयन अथवा भोट-बर्मेली भाषा परिवारमा लिम्बु भाषाको विशेष महत्त्व छ । किनभने लिम्बु भाषा अझै पनि त्यसको व्यापक प्राचीन रूपमा भेटिन्छ । क्रियापदको रसशास्त्र सबै पूरानै अवस्थामा छ । धेरै परिवर्तन भएको छैन । बर्मेली, तिब्बती र चिनिया भाषामा परिवर्तन भइसक्यो । ती भाषाको अध्ययन गर्दा यो ओरिजिनल छ । किराँती भाषाहरूको प्राचीन रूप भेटिन्छ ।
वेदमै किराँत बारे उल्लेख छ । पूर्वी भेगमा किराँती र पश्चिचमा आर्यहरू थिए भन्ने उल्लेख भएको छ । यसको भाषा वैज्ञानिक प्रमाण पनि छ कि वेद करिब ५ हजार वर्ष पुरानो हो ।
चीनको इतिहास पढ्दा उनीहरूका पुर्खा यल्लो रिभरबाट आएका होइनन् भन्ने बुझिन्छ । स्या, शाङ जस्ता राज्यका बेला पश्चिमबाट आएका झो जातीले राज्य बनाए । उनीहरूको भाषा पनि प्राचीन चीनको भाषा हो । त्यो बेलामा मात्र प्राचीन चिनिया भाषा बोल्ने मान्छे हुन् । उनीहरूको मोलेक्युलर बायोलोजीको अध्ययन गर्दा उनीहरूको डिएनए गर्दा उनीहरूको पुर्खा पूर्वी नेपालबाट चीनतर्फ गएको देखिन्छ । पछि पछि चाङगेज खानको बेलामा मानिसहरू उताबाट यता आए कि भन्ने पनि छ तर त्यसको प्रभाव खासै देखिँदैन । चीनको युनान र ताजकिस्तान उज्बेकिस्तान कजाकस्तानजस्तो मध्य एसियामा देखिन्छ । त्यसैले डिएनए र भाषा बैज्ञानिक प्रमाणहरूमा आधारित भएर हेर्दा यताबाटै मानिसहरू उता गएका हुन् ।
मानवशास्त्रको हिसाबले कुरा गरेको जस्तो देखिन्छ । सन् १७७४ मा जर्मनीको बाल्टिन सागरको छेउमा रहेको कोनिग्सबेर्गमा यूरोपबाट एसिया अफ्रिकातिर यात्रा गर्ने क्रममा त्यहाँ राखिएका पुराना तस्बिर र चित्रहरू देखेर यिनीहरू पनि उस्तै उस्तै देखिन्छन् भनेर मात्र ‘यिनीहरू मङ्गोल जाती हुन्’ भनेर भनेको उहाँको दाबी छ । ‘विख्यात समाजशास्त्र इम्यानुएल कान्तले उनीहरूको अनुहार आँखा उस्तै देखिन्छ भनेर ‘म सबैलाई मङ्गोल’ भन्छु भनेर भनेको हो र त्यो नै कुरा अघि बढेको हो । कान्तको देहान्तपछि भाषाविद्ले बुझेको कुरा के हो भने पूर्वी एसियामा यति धेरै भाषा परिवार छ कि मंगोलिनयहरु मङ्गोल भाषा बोल्छन् तर त्यो भाषा किरातसँगको एकै मूलको होइन । जसरी संस्कृत र लिम्बु भाषाको एकै मूल होइन त्यस्तै मंगोलियन र लिम्बुको मिल्दैन । तर चीन र किराँती भाषाको धेरै हदसम्म मिल्छ । चिनिया भाषा धेरै परिवर्तन भएको छ लिम्बु, लोहोरुङ, दुमी भाषामा त्यसको तुलनामा धेरै परिवर्तन भएको छैन’ फन द्रिमको निष्कर्ष छ ।
यो बारेमा खास धेरै अध्ययन नहुनुलाई उहाँ नौलो पनि मान्नुहुन्छ । नेपालमा मात्र होइन एसियाली भूखण्ड मै इतिहासबारेको अध्ययन, बुझाइ र अनुसन्धान एकदमै ‘कमजोर’ खालको छ
‘हाम्रोमा (उहाँ नेपाललाई हाम्रो भन्नुहुन्छ) इतिहास पढाइ नै हुँदैन, नयाँ अनुसन्धान नै हुँदैन । समाजमा धेरै मानिस आफ्नो सजिलो हुने खालको कथा कहानी खोज्छन् । कान्तले किरातलाई मङ्गोल हुन् भनिदिए त्यसैलाई सबैले मानेर हिँडे । थप अध्ययन गर्नै चाहेनन् । अर्को कुरा विद्वानहरूले आफूले थाहा पाएका कुरा भन्न पनि चाहँदैनन् । किनभने धेरैले चासो पनि राख्दैनन् । नेपालमा शिक्षा कमजोर छ । खासमा देशको इतिहास पढ्नुपर्छ । विश्वको इतिहास पढ्नुपर्छ । प्राचीन इतिहास पढ्नुपर्छ । तर धेरै मानिस बिदेसिएका छन् । नेपालमा राजनीतिक हस्तक्षेप नहुने गतिलो र आधुनिक विश्वविद्यालय खोल्न सके यो अवस्थामा परिवर्तन आउने थियो कि ?’
कुनै पनि विषयबारे मानिसहरूको पुराना किंबदन्तीहरु धेरै रहेकोले आम मानिसले त्यसैलाई मानेर अघि बढ्ने गरेको उहाँको अनुभव छ । ‘हामी खास कुरा के हो भन्नेबारे सोधी खोजी गर्न खोज अनुसन्धान गर्न र प्रमाणित गर्नतिर कम मात्र लाग्छ । जसले त्यो थाहा पाउँछ विद्वानहरूले पनि त्यो कुरा खासै चर्चा गर्दैनन् । प्रचार गर्न चाहँदैनन् । आफ्नो काम गरिरहन्छन्’ उहाँको करिब साढे ४ दशकको नेपाल साइनोले निकालेको निष्कर्ष हो यो ।
१०/१२ हजार वर्ष अघि लिम्बु वा चिनिया संस्कृत कुनै भाषा विकास नै नभएको बेला ‘प्रोटो इन्डो-युरोपियन’, ‘प्रोटो भोट-बर्मेली’लगायत भाषा रहेको र विस्तार हुँदै आ आफ्नो भाषा परिवारबाट धेरै भाषाहरू बन्दै गएको र यसै क्रममा व्याकरण र यसको स्वरूप फेरिएको उहाँ बताउनुहुन्छ । सुरुको रूप लोप हुनु सामान्य विकास क्रम नै भए पनि तुलनात्मक रूपमा लिम्बु भाषाको व्याकरणमा खास ठुलो परिवर्तन नआएको र कायमै रहेको र यो एकदमै गर्वको कुरा भएको उहाँको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८०, १९:१९