काठमाडौँ । चालु आर्थिक वर्षमा नेपालमा आँपको आयात घटेको छ ।
गत वर्षको तुलनामा यसपटक करिब १८ करोड १३ लाख रूपैयाँ बराबरको २ हजार ४ सय ५० टन कम आँप आयात भएको भन्सार विभागले जनाएको छ ।
पोहोर ११ महिनामा करिब ७२ करोड रुपैयाँको आँप आयात भएकोमा यसपटक भने ५३ करोड ६२ लाखको आँप आयात भएको भन्सार विभागका सूचना अधिकारी पुन्यविक्रम खड्काले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्षमा ६९ करोड १९ लाख १५ हजार रुपैयाँको आँप आयात भएको थियो । मधेश प्रदेशका सबै जिल्लासहित २४ जिल्लामा आँपको व्यावसायिक खेती भइरहेको छ ।
नेपालमा हाल ३५ जातका आँप उत्पादन हुने गरेको छ । पोहोर ३ लाख ६६ हजार मेट्रिक टन आँप उत्पादन भएको थियो ।
नेपालमा बर्सेनि कम्तिमा साढे ४ लाख मेट्रिक टन आँप खपत हुने गरेको छ । आँपको उत्पादन सरदर १ लाख मेट्रिक टन बढाउन सके नेपाल आँपमा आत्मनिर्भर हुन सक्नेछ ।
सरकारले अबको चार बर्षमा आँपमा आत्मनिर्भर हुने लक्ष्य राखे पनि त्यो भने पूरा नहुने देखिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०, ०९:३१