राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको १२ औँ राष्ट्रिय जनगणना २०७८ को जातजाति सम्बन्धी विवरणमा १४२ जातजातिको सूचीमा इतिहासमै पहिलो पटक “फ्री” (fri) जाती पनि समेटिएको छ । नेपालको आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को दफा २ को खण्ड (क) सँग सम्बन्धित अनुसूचीमा सूचिकृत ५९ आदिवासी/जनजाति मध्येको एक “फ्री” जाती भए पनि हालसम्मको राष्ट्रिय जनगणना तथा अन्य आधिकारिक सरकारी तथ्याङ्कहरूमा यस समुदायको जनसाङ्ख्यिक, भाषिक, सांस्कृतिक तथा अन्य तथ्याङ्क समावेश भएको थिएन । हाल “फ्री” जातीको जनसङ्ख्या ९२१ मात्र उल्लेख छ र यो अल्पसङ्ख्यक जातीको रूपमा देखिएको छ । कोशी, वागमती र लुम्बिनी प्रदेशका पाँच जिल्लाका पाँच स्थानीय तहमा यो जातीको उपस्थिति देखिएको छ । त्यसमा पनि जम्मा ९२१ मध्ये ७२७ जनसँख्यासहित यो जातीको बाहुल्यता तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका (साबिक ओयाक्जुङ्ग गाविस) मा रहेको देखिन्छ । २०५८ सालदेखि नै आदिवासी/जनजातिको रूपमा सूचिकृत भए पनि नेपालमा विरलै मात्र सुनिएको “फ्री” जातीको बारेमा आम रूपमा चासो रहेकाले यस जातीको पृष्ठभूमि र परिचयलाई संक्षेपमा समेटेर यो लेख तयार पारिएको हो ।
को हो त “फ्री” जाती ?
नेपालको पूर्वी क्षेत्रमा छरिएर अल्पसङ्ख्यक रूपमा बसोबास गर्ने जोगी समुदायको परम्परागत र मौलिक संस्कृति “फेरी” सँग जोडिएर “फ्री” जाती नामाङ्कित भएको पाइन्छ। “फेरी” संस्कृति वा परम्परा अवलम्बन गर्ने यो जाती जोगी, योगी, कँवर वा कम्बर जस्ता जातीय थरले पनि चिनिन्छ । “भैरुङ्”लाई आफ्नो वंशीय उत्पत्ति (Ancestral origin) अर्थात “कुल” मानी तीनै “भैरुङ्”को विशेष शक्तिमा आधारित फेरी संस्कृति (Pheri culture) को मौलिक पहिचान बोकेको जोगी समुदायका मानिसले हरेक कात्तिक र चैत महिनाको राती घरघरमा गई विशेष मन्त्रोच्चारण गर्दै “फेरी” (बराँठको सिङ्) फुक्नाले भूत, प्रेत, पिशाचले वर्ष भरिनै दुःख नदिने, रोग व्याधि नलाग्ने, घरमा सुख, शान्ति प्राप्त हुने, बालीनाली सप्रने र सहको वास हुने धार्मिक तथा सांस्कृतिक मान्यता रही आएको छ । प्रकृतिलाई नै सर्वोपरि मानी सम्पूर्ण मानवको संरक्षणको लागि फेरी संस्कारको माध्यमबाट खेतीपाती लगाउनु अघि र वाली भित्र्याउनु अघि प्रकृतिको पूजा गर्ने, पुकार गर्ने, मानिस बिरामी पर्दा झारफुक गर्ने र आफ्ना पुर्खा वा कुल “भैरुङ्” को पूजा गर्ने जस्तो प्रकृति पूजक (Animist/Shaminist) धार्मिक मान्यता राख्ने यो समुदायको जातीय पहिचानको मुख्य सांस्कृतिक तथा धार्मिक आधार फेरी संस्कृति रहेको छ । यो संस्कृति प्राग-वैदिक कालदेखि नै नेपाली समाजमा प्रचलनमा रहेको मानिन्छ । परापूर्व कालदेखि नै यो संस्कृतिलाई नेपाली समाजका सबै जात जातीका समुदायले सामाजिक, सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक रूपमा विश्वास र सम्मान गरी मान्यता दिएको पाइन्छ । केही नभएको वा रित्तो भएको, घरबार, परिवार त्यागेको अवस्था बुझाउने विशेषणको रूपमा प्रयोग हुँदै आएको जोगी र सन्न्यासी शब्दको भावार्थमा रहेको समानताका कारण सामान्यतया यो समुदाय र दश नामी सन्न्यासी लाई मनोगत र गलत ढङ्गले एउटै समुदायको रूपमा बुझ्ने गरेको पाइन्छ ।
आवश्यक सूचना, चेतना, पहुँच र अध्ययन, अनुसन्धानको अभावमा “फेरी” संस्कृति भएका जोगी समुदायले “फ्री” जातीको रूपमा आफूलाई प्रस्तुत÷दाबी गर्न नसकेको अवस्थामा हाल विभिन्न अध्ययन तथा उपलब्ध सूचना र तथ्यहरूका आधारमा “फेरी” संस्कृति भएको जोगी जाती मात्रलाई नै तत्कालीन अवस्थामा फेरी संस्कृतिमा आधारित भई फ्री जातीको नाममा आदिवासी जनजातिको रूपमा सूचिकृत गरिएको देखिन्छ । यो समुदाय/जाती र फेरी संस्कृति एउटा ऐतिहासिक विशिष्ट परिस्थितिमा उत्पत्ति भएको देखिन्छ । यो समुदाय/जाती विभिन्न जातजातिको रक्त मिश्रण वाट उत्पन्न भएको, र यो समुदायले गोरखनाथ र मच्छिन्द्रनाथको शैव मार्ग नभई तान्त्रिक अनुयायीको रूपमा धार्मिक तथा सांस्कृतिक पहिचान विकसित गर्दै र “फेरी” संस्कृतिलाई विशिष्ट र मौलिक संस्कृति र परम्पराको रूपमा अपनाउँदै आएको पाइन्छ । तसर्थ, यो समुदाय सामाजिक, सांस्कृतिक, धार्मिक तथा जातीय रूपमा नाथ योगी सम्प्रदाय, दशनामी सन्न्यासी र अन्य जातजाति (नेवार, गन्धर्व, थारु, धिमाल आदि) भित्रका गोरखनाथका अनुयायी जोगीहरू भन्दा विल्कुलै भिन्न रहेको छ । आफ्नो छुट्टै जातीय पहिचान, उत्पत्तिको इतिहास र सामाजिक–सांस्कृतिक सम्बन्ध रहेको फेरीवाला जोगी समुदायलाई नेपाली समाजमा सदियौँदेखि व्याप्त मुख्यतया तीन तह (तागाधारी, मतवाली र दलित) को कथित जातीय पिरामिडको दोस्रो तहको मतवाली समुदाय भित्र राखी अन्य जातीले सामाजिक, सांस्कृतिक सम्बन्ध राख्दै आएका छन् । यो समुदाय कामको आधारमा हिन्दुवादी वर्ण व्यवस्थाले छुट्टाएको – जात भित्र पर्दैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्वीकृत छुट्टै जातीय समुदाय तथा जनजातिको अवस्था दर्साउने परिभाषा तथा विशेषताहरू छुट्टै सामूहिक सांस्कृतिक पहिचान, परम्परागत भेसभुसा, धर्म, रीतिरिवाज र संस्कृति, परम्परागत सामाजिक संरचना समानतामा आधारित, परम्परागत भौगोलिक क्षेत्र, लिखित वा अलिखित इतिहास, आधुनिक राजनीति र राज्य सञ्चालनमा निर्णायक भूमिका नभएको आदि यो जोगी वा फ्री समुदायको हकमा पूर्ण रुपमा लागू हुन्छ । यही मौलिक फेरी संस्कृति अवलम्बन गर्ने जोगी वा योगी समुदायले यही संस्कृतिमा आधारित भई नामाङ्कित फ्री लाई आफ्नो जातीको रूपमा अङ्गीकार गरी १२ औँ राष्ट्रिय जनगणना २०७८ मा आफूलाई “फ्री” जातीको रूपमा प्रस्तुत गरेका हुन् ।
फ्री र जोगी (कँवर, कँवर) को पृष्ठभूमि
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को अनुसूचीमा सूचिकृत ५९ आदिवासी जनजाति मध्ये “फ्री”सहित ११ वटा जातीहरू (तीन गाउँले थकाली, मार्फाली थकाली, बाह्र गाउँले, ताङ्वे, वन करिया, छैरोतन, फ्री, लार्के, सियार, थुदाम, मुगाल) नेपालको हालसम्मको राष्ट्रिय जनगणना तथा अन्य आधिकारिक सरकारी तथ्याङ्कहरूमा कहीँ कतै भेटिँदैन । अहिले फ्री र वन करिया जाती जनगणनामा सूचिकृत भएका छन् । नेपाल आदिवासी जनजाति महासँघमा वन करिया, छैरोतन र फ्री बाहेकका ५६ वटा जातीय संस्था आबद्ध छन् । नागरिकता वा सरकारी प्रमाणपत्रमा उल्लेख नभएका ११ मध्ये वन करिया, छैरोतन र फ्री बाहेकका ८ वटा जातीको पहिचान दाबी गरी आदिवासी जनजातिको अधिकार उपभोग गरिरहेको पाइएको छ तर “फ्री” जातीको नाममा हालसम्म कसैले पनि अल्पसँख्यक जातीको रूपमा समावेशीकरण सम्बन्धी प्रदत्त अधिकार उपभोग गरेको छैन । उपलब्ध दस्ताबेज र सूचनाहरूलाई अध्ययन गर्दा ती ५९ आदिवासी जनजातिको सूचीकरण गर्दा फेरी संस्कृति भएको जोगी जातीलाई फ्री को नाममा सूचिकृत गरेको प्रस्ट देखिन्छ ।
तत्कालीन राष्ट्रिय जनजाति विकास समितिको तर्फबाट गरिएको “फ्री” जातीको अनुसन्धान प्रतिवेदन, “फ्री” जातीको अनुसन्धान प्रोफाइल, २०५७, मा “फ्री” जातीको बसोबास रहेको भनिएका मकवानपुर, ललितपुर र काभ्रेपलान्चोकका विभिन्न गाउँमा स्थलगत अध्ययन गर्दा ती ठाउँमा फेरीवाला जोगीहरुको (जसलाई पहिले कँवर, कँवर भनिन्थ्यो) बसोबास रहेको पाइएको र उनीहरूले अझै पनि परम्परागत फेरी संस्कृति अपनाउँदै गरेको र “फ्री” जातीको नामकरण फेरी संस्कृति को कारण वाट गरिएको हुनसक्ने र परम्परागत फेरी संस्कृति अपनाउने जोगी (कँवर, कमर)लाई नै “फ्री” भनिएको हुन सक्ने निष्कर्ष उल्लेख छ। उक्त अनुसन्धान प्रतिवेदनमा 'जोगी (कमर, कँवर) जातीको पुर्ख्यौली पेसा “फेरी” लगाउँदै वर्षैपिच्छे गाउँ–गाउँ हिँडिरहनुपर्ने भएकाले यसै जातीलाई “फ्री” मानिएको हुनसक्ने देखिन्छ । साथै यिनीहरूको आर्थिक, सामाजिक, शैक्षिक अवस्था, भौगोलिक बसाइँ, परम्परागत पेसा, सोझो सिधापना आदि आधारमा अनुसन्धान गर्दा यस जातीलाई जनजातिहरूको सूचीमा समावेश गर्नुपर्ने देखिन्छ । साथै यस जातीलाई “फ्री” भनिन सक्ने आधारहरू पाइएकोले यसलाई नै “फ्री” को रूपमा लिन सकिनेछ' भनी सुझावसहित सिफारिस गरिएको छ । त्यस्तै मधुसूदन पाण्डेयद्वारा पैरवी प्रकाशन मार्फत प्रकाशित “नेपालका जनजातिहरू, २०६५” नामक पुस्तकमा पनि “फ्री” जातीको संक्षिप्त विवरण उल्लेख गरिएको छ । सो पुस्तकमा “फ्री” जातीको नामकरण शीर्षकमा लेखिएको छ– “फेरी” लगाएर हिँड्ने (रातको समयमा बराँठको सिङ बजाउँदै हिँड्ने) जोगीलाई “फ्री” भनिएको हुनुपर्ने अनुमान गरिएको छ । फेरी लगाउने जातीलाई कँवर जोगी आदि थर वाट सम्बोधन गरिन्छ । त्यही फेरी लगाउने पेसाले नै उनीहरूलाई “फ्री” भनिएको हुनुपर्दछ भन्ने अनुमान गरिएको छ । त्यस्तै, पदम श्रेष्ठद्वारा लिखित जातजाति र सङ्घीयता नामक पुस्तकमा पहरी जस्तै “फ्री” जनजाति शीर्षकमा “फेरी” लगाएर हिँड्ने जोगी जाती नै “फ्री” भएको उल्लेखित छ । त्यसरी नै, डा. बमबहादुर अधिकारीद्वारा लिखित नेपाली आदिवासीको सन्दर्भमा गोपालीहरूको इतिहास नामक पुस्तकमा “फ्री” जाती र गोपाली जाती शीर्षकमा “फेरी” लगाउने जोगी जाती नै “फ्री” भएको उल्लेख छ । त्यसै गरी, राजेश गौतम र अशोक थापामगरद्वारा सन् १९९४ मा प्रकाशित Tribal Ethnography of Nepal, Volume I &II. Delhi: Book Faith India,मा “फ्री” जाती को परिचय उल्लेख गरिएको छ । उक्त पुस्तकमा “फ्री” जातीको बसोबास रहेको भनि उल्लेखित गाउँहरूमा परम्परादेखि नै “फेरी” संस्कृति अपनाउने जोगी समुदायको लामो समयदेखि बसोबास रही आएको देखिन्छ र जोगी शब्दको विभिन्न विश्लेषणात्मक अर्थ तथा जोगी शब्दले विभिन्न सम्प्रदाय र व्यक्तिलाई समेत जनाउने हुनाले फेरी संस्कृति अपनाउने जोगी समुदायलाईकै “फ्री” जातीको रूपमा प्रस्तुत गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ भन्ने उल्लेख गरिएको छ ।
मौलिक फेरी संस्कृति र जोगी÷ “फ्री” जातीको उत्पत्ति सम्बन्धी संक्षिप्त इतिहास:
मौलिक “फेरी” संस्कृति र जोगी समुदायको जातीय उत्पत्ति सम्बन्धी विभिन्न लोक कथाहरू भए पनि जनकलाल शर्माद्वारा प्रकाशित अनुसन्धानमूलक पुस्तक “हाम्रो समाज: एक अध्ययन, १९९२, साझा प्रकाशन काठमाडौँ” मा उल्लेख भए बमोजम इसा पूर्व आठौँ देखि बाह्रौँ शताब्दीको अवधिमा नेपालको कर्णाली क्षेत्रमा गोरखनाथले चलाएको हठ योगाको साधना अभ्यास गर्ने, गराउने अनुयायीहरूको रूपमा नाथ सम्प्रदायका कनफटा योगी थिए । खास गरी कर्णाली प्रदेशमा मल्लहरूको प्रभाव समाप्त भएपछि यिनै नफटा नाथ योगीहरुको बोलवाला थियो । उनीहरू जहान परिवार सहित हुन्थे र हरेक सन्तानले कर्म चलाउनु पर्थ्यो । यसै सम्प्रदायका अनुयायी चन्दननाथले जुम्लामा सन् १४०४ मा र रत्ननाथले दाङ र सल्यानमा राज्य स्थापना गरेका थिए, उनका अन्तिम प्रतिनिधि सिद्ध भगवन्तनाथ पृथ्वीनारायण शाहका पालासम्म थिए, जसलाई पत्र व्यवहार गर्दा श्री ६ महाराजाधिराज भनेर सम्बोधन गरिन्थ्यो ।
गोरखनाथले नै नाथ सम्प्रदायमा कर्म चलेको जनाउन कान चिर्ने परम्पराको सुरुवात गरेका थिए । नाथ सम्प्रदायका कनफटा योगीहरू पञ्चमकारमा (मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन) मा विश्वास राख्ने हुनाले साधनाको नाममा साथमा स्त्रीलाई राख्दथे, यस्ता स्त्री मुद्रा वा साध्याका नामले सम्बोधित हुन्थे, नेपालमा वि.सं. १९८१ मङ्सिर १४ मा दास प्रथाको अन्त्य हुनु अघि दास दासीको सामाजिक मर्यादा पशुभन्दा पनि तल्लो दर्जामा थियो र यिनको किनबेच पनि हुन्थ्यो । यस्ता दास दासीले नाथ सम्प्रदायमा दीक्षित भएर त्यो मत वा सम्प्रदाय अपनाउनासाथ यिनको सामाजिक मर्यादा केही बढ्थ्यो । त्यसकारण अनेक दास दासी त्यस सम्प्रदायमा दीक्षित हुन्थे । सिद्धि प्राप्तिको नाममा मुद्रा वा साध्याको रूपमा सम्पन्न परिवारले तिनै दासी महिलाहरूलाई कनफटा नाथ योगीहरू समक्ष बुझाउँथे । साधनाको नाममा मुद्रा वा साध्या भए पनि तिनीहरूको नाथ योगीहरूसँग शारीरिक सम्पर्क भयो । ती महिलाबाट कनफटाहरू र दीक्षित हुन गएका अन्य पुरुषसँगको सम्पर्कवबाट सन्तान भए । यसरी जन्मेका सन्तानको एउटा सामाजिक व्यवस्था हुनु आवश्यक थियो । यस्ता सन्ततिलाई कम्बर, कवँर, कमर, जोगी, भनियो, जसको तात्पर्य हो– कर्म नचलेका वा नाथ सम्प्रदायको कर्म, संस्कार मा जान नपाउने । कनफटा नाथ योगीका औपचारिक सन्तान मात्र कर्म चलाउन योग्य हुन्थे । कर्म नचलेकाहरूको सामाजिक हैसियत उनीहरूको भन्दा तल्लो हुन्थ्यो । नाथ सम्प्रदायमा कर्म चलाउनुको अर्थ छुराले कान चिराउनु हो । कर्म नचलेका यस्ता सन्ततिलाई नाथहरूले झैँ दिउँसो भिक्षा माग्न निषेध गरियो । त्यसपछि गोरखनाथको आदेशमा सम्पूर्ण मानव जगतलाई भूतप्रेत आदिबाट रक्षा गर्ने, पृथ्वी प्रकृतिको पूजा गर्ने आफ्नो दायित्व पुरा गर्ने अनुयायीको रूपमा फेरी संस्कार अपनाउने व्यवस्था ती कँवर जोगीहरूलाई गरियो । थारु जातीमा नफटा, जोगी, महन्त, भगत आदि थरहरू छन् जो फेरी संस्कार अवलम्बन गर्देनन् तर उनीहरू पनि गोरखनाथलाई पुज्ने गर्छन् (हाम्रो समाज: एक अध्ययन, १९९२, साझा प्रकाशन, पाना ३५९–३६०) । कर्म नचलेका कँवर र घरबारी जोगीहरू आज जोगी समुदायको रूपमा परिचित रहेका छन् (पाना नं. ६८–७१) । यसरी मौलिक “फेरी” संस्कृति र सो अवलम्बन गर्ने जोगी समुदायको उत्पत्ति भएको देखिन्छ ।
राष्ट्रिय समावेशी आयोगले हालै खस आर्य थर सूचीकरणका लागि नेपाल सरकारलाई गरेको सिफारिसमा दश नामी सन्न्यासी दश थरहरू र सन्न्यासी (बाह्र पन्थी समेत)का थर र गोत्रहरू समावेश गरिएको छ। सन्न्यासी (बाह्र पन्थी समेतका) को थरमा कँवर योगी, कुँवर जोगी, योगी आदि थरहरू समावेश गरेको देखिन्छ तर तिनीहरूको उल्लेखित गोत्रहरू फेरी संस्कृति अवलम्बन गर्ने जोगी/फ्री जातीको थरका कुनै पनि गोत्रसँग मेल खादैन । माथि उल्लेखित मौलिक फेरी संस्कृति र सो अवलम्बन गर्ने जोगी समुदायको उत्पत्ति सम्बन्धी सन्दर्भले पनि “फेरी” संस्कृति अवलम्बन गर्ने जोगी/फ्री जाती, दश नामी सन्न्यासी, नाथ योगी सम्प्रदाय र अन्य जातजाति भित्रका जोगी बिच मौलिक भिन्नता रहेको देखिन्छ । शङ्कराचार्यका अनुयायी मानिने दश नामी सन्न्यासी अन्तर्गत फेरी संस्कृति अपनाउने जोगी समुदाय पर्दैन । उनीहरूको दश नामीहरूसँग बिहेवारि हुँदैन । परम्परागत रूपमा सन्न्यासीहरूले जोगी समुदायका मानिसले पकाएको भात, खानेकुरा खाँदैनन्, उनीहरूको भात पकाउने चुलो चौको छुन समेत दिँदैनन्। साथै आफूभन्दा सामाजिक रूपमा तथाकथित तल्लो जातीको रूपमा व्यवहार गर्ने गर्दछन् । त्यस्तै, नाथ, योगी, जङ्गम, ब्रह्मचारी, देवनाथलगायतको नाममा नाथ योगी सम्प्रदायलाई चिनिन्छ । यस सम्प्रदायमा आदिनाथ, नवनाथ र चौरासी सिद्धमा आधारित वाह्रपन्थ रहेको हुन्छ । यस सम्प्रदायको धार्मिक र सांस्कृतिक परम्परा अन्तर्गत व्रतबन्ध, उपदेशी लिनुपर्ने कार्यक्रम, तियो गर्ने, शंखढाल गर्ने अन्तरजातीय ढोग भेटमा आदेशनाथकी र धरमको जय होस् भन्ने, विभिन्न गुरुहरूको व्यवस्था (उपदेशी गुरु, चिरा गुरु, भभूतगुरु, चोटि गुरु, वाना गुरु) रहेको हुन्छ । उनीहरूले मठाधीस, पिर र महन्थ र पुजारी, कान चिरा नाथ जोगीको रूपमा विभिन्न धार्मिक भूमिका निर्वाह गर्दछन् । यस्ता कुनै पनि संस्कार र परम्पराहरू, धार्मिक, सांस्कृतिक प्रचलन फेरी संस्कृति अपनाउने जोगी समुदायमा लागू हुँदैन । दश नामी सन्न्यासी र नाथ योगी सम्प्रदायमा फेरी संस्कृति रहेको छैन। त्यस्तै, नेवारभित्रका जोगी (कपाली, कुसुले, दर्शनधारी)हरू गोरखनाथ र मच्छिन्द्रनाथका अनुयायी भए पनि उनीहरू “फेरी” संस्कृति अपनाउँदैनन् । अन्य सामाजिक, सांस्कृतिक कुराहरू पनि मिल्दैन । त्यस्तै, गन्धर्व जात भित्रका जोगी थर र थारु तथा धिमाल जाती भित्रका जोगीहरू गोरखनाथलाई गुरु मान्ने भए पनि उनीहरूसँग पनि सामाजिक, सांस्कृतिक कुराहरू पनि मिल्दैन । “फ्री” जातिबाहेक अन्य जात जाती र सम्प्रदायमा रहेका जोगीहरूमा फेरी संस्कृति छैन । नेपालमा जस्तै “फेरी” संस्कृति अपनाउने जोगी समुदायको बसोबास छिमेकी मुलुक भारतको सिक्किम तथा पश्चिम बङ्गाल राज्यमा पनि रहेको छ । उक्त स्थानमा नेपाल वाट पनि जोगी जातीका मानिसको बसाइसराइ भएको पाइन्छ । सिक्किम सरकारले सन् २००० मा भुजेल, देवान, गुरुङ, जोगी, किराँत राई, मगर, सुनुवार र थामीलाई “Most Backward Classes” (MBC) को रूपमा र बाहुन, क्षत्री, नेवार र सन्न्यासीलाई “Other Backward Classes” औबीसीको रूपमा सूचिकृत गरेको छ । त्यस्तै, सन् १९९५ मा पश्चिम बङ्गाल सरकारले योगी–नाथ र जोगीलाई छुट्टाछुट्टै रूपमा ओबीसीको रूपमा सूचिकृत गरेको छ भने केन्द्र सरकारले प्रान्त सरकारका सूचिहरूको आधारमा योगी–नाथ र जोगीलाई छुट्टाछुट्टै रूपमा ओबीसीको रूपमा सूचिकृत गरेको छ । भारतमा सूचिकृत जोगीले नेपालको जस्तै फेरी संस्कृति अपनाउने जोगी/फ्री जाती र योगी–नाथ ले नाथ योगी सम्प्रदायलाई जनाउँछ ।
अल्पसङ्ख्यक र सीमान्तकृत “फ्री” जातीको लागि विशेष समावेशीकरणको खाँचो
“फ्री” जातीको जातीय संस्था फ्री सेवा समाज, नेपालले गरेको आन्तरिक सर्वेक्षणमा नेपालको काठमाडौँ पूर्वका करिब २० जिल्लामा “फ्री” जातीको १ हजार ४२० घरधुरी र १० हजार २११ जनसङ्ख्या रहेको पाइएको छ । जसमध्ये तेह्रथुमको फेदाप गाउँपालिका वडा नं. २ ओयाक्जुङ्गमा सबैभन्दा धेरै जनसङ्ख्या देखिन्छ । जनगणनाको क्रममा धेरै जिल्लामा “फ्री” जाती लेखाइए पनि धेरैजसो ठाउँमा गणकहरूले तथ्याङ्क सङ्कलनको क्रममा तथा तथ्याङ्क प्रविष्टि एवं प्रशोधन गर्ने क्रममा सो कार्यमा संलग्नहरूले थरमा जोगी सुन्ने र देख्ने बित्तिकै जातजातिमा दश नामी सन्न्यासी परिणत गरिदिएको देखिन्छ । जोगी र सन्न्यासी शब्दको भावार्थमा रहेको समानताका कारण विगतका सबै जनगणनामा “फ्री” जातीलाई थरमा जोगी उल्लेख गरेकै आधारमा दश नामी सन्न्यासीकाे रूपमा अन्यायपूर्ण तवरले प्रस्तुत गर्ने गरिएको थियो । माथि उल्लेख भएवमोजिम जोगी थर फ्री, नेवार, गन्धर्व, थारु र धिमाल गरी पाँच वटा जातजातिमा रहेको र “फ्री” जोगी तथा अन्य जातजातिका जोगी एवं दश नामी सन्न्यासी र नाथ सम्प्रदायबिच सामाजिक–सांस्कृतिक, धार्मिक र जातीय रूपमा आधारभूत भिन्नता रहेका छन् । परम्परागत र विशिष्ट “फेरी” संस्कृति अँगाल्ने “फ्री” जोगी समुदाय आर्थिक रूपमा अति गरिब, सामाजिक–सांस्कृतिक रूपमा सीमान्तकृत, जनसाङ्ख्यिक रूपमा अल्पसङ्ख्यक, जातीय रूपमा परिभाषित पहिचान विहीन तथा राजनीतिक रूपले राज्यका संयन्त्र, स्रोत र साधनमा पहुँच र प्रतिनिधित्व शून्य प्रायः रहेको, सीमान्तकृत र अल्पसङ्ख्यक समुदायको रूपमा रहेको छ । एक शताब्दीभन्दा लामो समयको अन्तराल पछि १२ औँ राष्ट्रिय जनगणनाले “फ्री” जातीलाई पहिलो पटक राष्ट्रिय पहिचान प्रदान गरेको छ । सरकारको सामाजिक समावेशीकरण प्रक्रियामा राष्ट्रिय जनगणनाको तथ्याङ्कहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने हुनाले अव यस सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदायको हक अधिकारको संरक्षण, तथा राज्य संयन्त्रमा उचित प्रतिनिधित्व र समावेशीकरण अपेक्षित छ । अव, आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल आदिवासी जनजाति महासङ्घ र सङ्घ, प्रदेश र स्थानीय तहका सरकारहरूले यस जातीको बारेमा थप अध्ययन अनुसन्धान गरी विस्तृत विवरण सङ्कलन गर्ने, फ्री को जातीय संस्था फ्री सेवा समाज, नेपाललाई साथमा लिएर यसको संस्थागत विकास, क्षमता विकास र सुदृढीकरण गर्ने र फ्री जातीको समग्र उत्थान र समावेशीकरणको प्रक्रिया अविलम्ब थालनी गर्नु जरुरी छ ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०, ११:४९