काठमाडौँ । नेपाल १६ वर्षमुनिको एसीसी ईस्टर्न जोन क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । मलेसियामा बुधबार भएको खेलमा थाइल्यान्डलाई २ सय २५ रनले हराएको हो ।
नेपालले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १३ ओभर २ बलमा ४४ रनमा अलआउट भयो । थाईल्यान्डका सात खेलाडी रनको खाता नखोल्दै आउट भए ।
नेपालका सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिनुभयो । उहाँले ३ ओभर २ बलमा मात्र ८ रन खर्चेर ५ विकेट लिनुभएको हो । यस्तै अशोक धामीले ३ तथा कप्तान अभिसेक तिवारीले २ विकेट लिनुभयो ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो । नेपालका निरजकुमार यादवले सर्वाधिक ७४ रन बनाउनुभयो । निरजले सुर्यांशु कोइरालासँग १३ ओभरमा १ सय १० रनको साझेदारी गर्नुभयो र सुर्यांशुले ४० रन बनाउनुभयो । यस्तै, नरेन भट्टले अविजित ५५ रनको योगदान गर्नुभयो ।
प्रतियोगिताको समूह ए मा नेपाल, थाईल्यान्ड र मलेसिया तथा समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया गरी ७ टोली छन् । नेपालले अर्काे खेल शुक्रबार मलेसियासँग खेल्नेछ ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८०, १५:३९