काठमाडौँ । आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेको माग अनुसार बुधबार भएको मत विभाजनमा बजेटको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको हो । बैठकमा २५५ जना सांसद उपस्थित थिए । सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीलगायत दलका सांसदले वजेटको पक्षमा मतदान गरेका थिए । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलले भने विपक्षमा मत दिएका थिए ।
संशोधन नभएसम्म बजेट पारित हुन नदिने बताउँदै आएका एकीकृत समाजवादी र जसपाले बजेटको पक्षमा मतदान गरे । सत्तारुढ दलहरु कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी पार्टीले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप लगाएका थिए ।
सरकारलाई समर्थन गर्दै आएको जनमत पार्टीले भने बजेट संशोधन नभएको भन्दै बजेटको विपक्षमा मतदान गरेको थियो । जिल्ला निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन कार्यालयमा गाभ्ने बजेटको व्यवस्था परिमार्जन गरी यथास्थितीमै राख्ने विषय भने संशोधन गरिएको छ । अन्य सबै विषय बजेटमा उल्लेख भए अनुसार नै रहेका छन् ।
बुधबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिएसँगै सभामुख देवराज घिमिरेले प्रकृयामा लगेर बजेट बहुमतले पारित भएको घोषणा गर्ने तयारी गरे पनि एमालेका सचेतक महेश बर्तौलाले विपक्षमा रहेका सांसद धेरै रहेको दाबी गर्दै मत विभाजनको माग गर्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट निर्माणमा सांसदहरूको सहभागीता बढाउने र अर्थमन्त्री महतले योजना कार्यान्वयनका क्रममा बजेट व्यवस्थापन गर्ने आश्वासन दिनुभएको थियो ।
बजेटमाथि राष्ट्रिय सभामा छलफल हुन भने बाँकी नै छ ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८०, १७:२३