विराटनगर । मोरङमा नयाँ नागरिकता ऐन अनुसार तीन दिनमा चार सय ७० जनाले नागरिकता पाएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले सोमवारदेखि नागरिकता संशोधन ऐन २०७९ बमोजिम नागरिकता दिन थालेको हो । पहिलो दिन सोमवार मोरङबाट एक सय २८ जनाले नागरिकता पाएका थिए । जसमा जिल्ला प्रशासन कार्यालय मोरङबाट ६२, इलाका प्रशासन कार्यालय उर्लाबारीबाट ४६ र इलाका प्रशासन कार्यालय रंगेलीबाट २० जनाले नागरिकता लिएका थिए ।
दोस्रो दिन मंगलबार जिल्ला प्रशासन कार्यालयबाट एकसय पाँच जना तथा इलाका प्रशासन कार्यालय उर्लाबारी र रंगेलीबाट ४५/४५ जनाले नागरिकता पाएका हुन् ।
बुधबार जिल्ला प्रशासन कार्यालय मोरङबाट ८२ जना, इलाका प्रशासन कार्यालय उर्लाबारी र रंगेलीबाट क्रमश ३७ र २८ जनाले नागरिकता पाएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
सर्वोच्च अदालतको संयुक्त इजलासले जन्मका आधारमा दिइने नागरिकता विरूद्धको अघिल्लो अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेपछि जिल्ला प्रशासन कार्यालयले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण शुरू गरेको हो ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८०