काठमाडौँ । नेपालमा फलफूलको आयात बढ्दै गएको छ ।
राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार गत वर्ष मात्रै नेपालमा फलफूलको आयात ६० प्रतिशतले बढेको छ । नेपाल भित्रिने अधिकांश फलफूल विषादीयुक्त हुने भएकाले मानव स्वास्थ्यमा भने असर पर्ने गरेको विज्ञहरू बताउँछन् ।
नेपालमा बर्सेनि झन्डै २० देखि २५ अर्बको फलफूल आयात हुने गरेको तथ्याङ्क छ ।
आयात भएका आँप, स्याउ, सुन्तला, लिची, अङ्गुर, केरा, अनार, नास्पाति जस्ता मौसमी तथा वेमौसमी फलफूल हेर्दा पनि आकर्षक देखिने भए पनि लोभलाग्दो र आकर्षक फलको सेवन मानव स्वास्थ्यका लागि भने घातक हुनसक्ने डा.केदार सेञ्चुरीले बताउनुभयो ।
पेट पोल्ने, झाडा पखाला लाग्ने, कलेजो किड्नीमा पनि असर गर्ने उहाँको भनाइ छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बाहिरबाट आयात गरिएको फलफूलमा धेरै विषादी हुने हुँदा आयातमा रोक लगाउन गत असार २ गते पत्र नै निकालेको छ ।
फलफूल लोभलाग्दो र आकर्षक देखिने प्रमुख कारण हो विषादी । विषादीको प्रयोगबाट फलफूललाई रङ्गिन, लोभलाग्दो र समयभन्दा पहिले नै खाने योग्य बनाइन्छ । सरकारले आउँदो दस वर्षलाई फलफूल दशकको रूपमा मनाउने घोषणा गरेको छ ।
प्रकाशित मिति: सोमबार, असार ९, २०७६, ०९:५९