काठमाडौँ । हिन्दु धर्मावलम्बीले आज घरघरमा तुलसीको बिरुवा रोपेका छन् । तुलसीको मोठमा विशेष पूजाआजासहित तुलसीको बिरुवा सारिएको हो ।असार शुक्ल एकादशीका दिन (आज) सारेको तुलसीको बिरुवालाई चार महिना (कात्तिक शुक्ल एकादशी) सम्म पूजा आराधना गर्ने गरिन्छ ।
आज हिन्दु धर्मावलम्बीहरू व्रत बस्ने चलन पनि छ । आज मात्र नभएर यी चार महिनाका हरेक एकादशीमा व्रत बस्ने गरिन्छ । सबै दिन व्रत बस्न नसक्नेहरू हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बुढानीलकण्ठ,उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवम् विष्णु मन्दिरमा धेरै भक्तजन पुगेका छन् ।
सनातन वैदिक परम्परामा तुलसीलाई विष्णुको प्रतीक मानिन्छ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म 'भगवान् विष्णु' क्षीर सागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद्हरू बताउँछन् ।
वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगमा औषधिका रूपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास पनि गरिन्छ ।
चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई हरिबोधिनी एकादशीका दिन विवाह गरिदिने वैदिक विधि रहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०, १४:१९