काठमाडाैँ । सरकारले सात वटा ठुला अस्पतालको साधारण शय्या बिरामीका लागि आजदेखि निःशुल्क गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका ७ ठुला अस्पतालका २ हजार २८ शय्यामा उपचार गराउने बिरामीले साधारणतर्फका शय्याको कुनै शुल्क तिर्न नपर्ने निर्णय आज (बिहीबार) बाट लागू गरेको हो ।
जसअनुसार वीर अस्पतालमा ७ सय, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा ४ सय ५०, काेशी अस्पताल विराटनगरमा ३ सय ३०, कान्ति बाल अस्पतालका दुई सय ४८, राष्ट्रिय ट्रमा सेन्टरमा एक सय ५०, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ९०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ६० शय्या बिरामीका लागि निःशुल्क उपलब्ध गराइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसअघि यी शय्यामा बिरामीले प्रतिदिन २ सय रुपैयाँका दरले शुल्क तिर्नुपर्थ्यो।
अहिले ७ वटा अस्पतालमा शय्या नि:शुल्क गरेको र सङ्घीय सरकार मातहतका अन्य अस्पतालमा पनि शय्या नि:शुल्क गर्दै लैजाने तयारी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०, १४:४६