काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नीजि विद्यालयका शिक्षकलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह तलब उपलब्ध गराउन निर्देशन दिनुभएको छ।
नीजि विद्यालयका शिक्षकको तलब सामुदायिकका विद्यालयको भन्दा कम रहेको भन्दै शाहले सरकारले तोके बमोजिमको तलब अनिवार्य उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।
शिक्षा ऐन, २०२८ मा संस्थागत विद्यालयका शिक्षकलाई पनि नेपाल सरकारले तोकेको तलब स्केल नघटाई दिनुपर्ने भन्ने उल्लेख गरिएको मेयर शाहले काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायत अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएकाले त्यसैअनुसार लागू गर्न निर्देशन दिनुभएको हो ।
यो तलब सुविधा प्राप्त नभए महानगरको शिक्षा विभागमा सम्पर्क गर्न मेयर शाहले भन्नुभएको छ। काठमाडौँ महानगरमा अहिले ५ सय ४० वटा नीजि विद्यालय रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०, १५:२७