पाल्पा । पाल्पाको ऐतिहासिक भैरवनाथ मन्दिरका मुख्य पुजारी जितनाथ योगी निलम्बनमा परेका छन् । मन्दिरमा दर्शनका लागि जाने महिलामाथि यौनजन्य दुर्व्यवहार गरेको समाचार सार्वजनिक भएपछि थप छानबिनका लागि योगीलाई निलम्बन गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
विगत २२ वर्षदेखि मन्दिरमा मुख्य पुजारीका रूपमा रहेका ७० वर्षीय योगीले महिला दर्शनार्थीलाई टिका लगाइदिने क्रममा यौनजन्य दुर्व्यवहार गरेको समाचार बाहिरिएकाले निलम्बन गरी थप छानबिन गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पोखरेलले बताउनुभयो । सिसिटिभी फुटेजमा पनि योगीमाथिको आरोप प्रमाणित हुने खालको भिडिओ भेटिएको तर थप अनुसन्धान पछि मात्र सत्य तथ्य सार्वजनिक गरिने अध्यक्ष पोखरेलले बताउनुभयो ।
मुख्य पुजारी योगी पक्षले भने गुरुको अपमान गरेको भन्दै समितिलाई दबाब आउने गरेको समिति निकट स्रोतले जनाएको छ ।
मन्दिरको नियमित पूजा भने रोकिएको छैन । मन्दिर व्यवस्थापन समितिले नियमानुसार दैनिक पूजा सञ्चालनका लागि सहायक पुजारी कमलनाथ योगीलाई जिम्मेवारी दिएको छ ।
पुजारीको विषयमा जानकारी प्राप्त भए पनि पीडितबाट जाहेरी भने नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक भुपेन्द्र थापाले बताउनुभयो । समितिले पुजारी योगीलाई परिवारको जिम्मा लगाउने तयारी गरिएको जनाएको छ ।
पुजारी योगी आर्थिक अनियमितमा समेत बेलाबेलामा मुछिँदै आएका थिए । उनले यसअघि मन्दिरमा दर्शनार्थीले दान पत्रमा चढाएको भेटी र जिन्सी सामग्रीमा अनियमितता गरेको भन्दै अख्तियार अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०, १९:५६