काठमाडौँ । २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आज देशभरमा मनाइँदै छ ।
यो वर्षको दिवसको नारा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ भन्ने तय गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभिन्न निकाय तथा विभागले गोष्ठी, तथा रोपाइँ गरेर महोत्सवको आयोजना गर्ने कृषि विभागका महानिर्देशक एवं धान दिवस तथा रोपाइँ महोत्सव मूल आयोजक समितिका अध्यक्ष डा हरिबहादुर केसीले जानकारी दिनुभयो ।
धान दिवसका दिन अधिकांश स्थानमा रोपाइँ सुरुवात गर्ने गरेको पाइन्छ ।
खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाइन्छ ।
कृषिप्रधान देश नेपालमा खाद्य सुरक्षाको प्रमुख आधारका रूपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै आएका कारण सरकारले असारमा १५ राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको महानिर्देशक केसीले बताउनुभयो ।
धानको उत्पादन बढाउन र आधुनिकीकरण अनि व्यवसायीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले २०६१ सालदेखि प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो ।
चालु आर्थिक वर्षमा ५४ लाख ८६ हजार ४ सय ७२ टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०, ०८:१७