काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गर्नुभएको विश्वासको मत लिने प्रस्तावमा आज निर्णय हुने भएको छ ।
हिजोको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमा छलफल भइसकेको छ ।
प्रदेश सभा सचिवालयले प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने प्रस्तावसँगै निर्णयार्थ प्रस्तुत हुने कार्यसूची प्रकाशन गरेको भए पनि हिजोको बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेस हुन सकेन ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्ताव गरेपछि दलका नेताहरूसँग छलफल गर्नुभएको थियो ।
१ घण्टाका लागि समय मागेर प्रदेश सभाबाट बाहिरिनु भएका मुख्य मन्त्री नआएपछि आज बिहान ११ बजेसम्मका लागि बैठक सारिएको हो ।
कोशी प्रदेश सभाका कुल ९३ सदस्यमध्ये मुख्यमन्त्री कार्कीको पक्षमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका गरी ४६ जनाको समर्थन छ ।
एक जना सांसद रहेको जनता समाजवादी पार्टी तटस्थ बस्दा विपक्षीतर्फ नेपाली काँग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार गरी ४६ मत नै देखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०, ०८:३०