विराटनगर । काेशी प्रदेशको वर्तमान सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत नपाएपछि सरकार ढलेको हो । मुख्यमन्त्री कार्कीले प्रदेश सभामा राखेको प्रस्तावको पक्षमा ४६ जना प्रदेश सांसदले मात्र मतदान गरे । उहाँलाई विश्वासको मतका लागि आवश्यक पर्ने एक मत कम भएको हो । विश्वासको मतको विपक्षमा ४३ मत परेको थियो ।
९३ सदस्यीय कोसी प्रदेशको सभाको शुक्रवारको बैठकमा ८९ सांसद उपस्थित थिए । बैठकमा जनता समाजवादी पार्टीकी निर्मला लिम्बूका साथै प्रतिपक्षी दलका दुई गरी तीन जना सांसद अनुपस्थित रहे ।
२०७९ पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले पुस २५ गते शपथ ग्रहण गर्नुभएको थियो । मुख्यमन्त्री नियुक्त भएको १७६ दिनमा कार्कीले पद छोड्नु परेको हो ।
विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा बिहीबार सत्तापक्ष र विपक्षी दलका नेताहरूले छलफलमा भाग लिएका थिए । मुख्यमन्त्री कार्कीकै आग्रहमा दिउँसो पटक–पटक सारिएको बैठक मुख्यमन्त्री र मन्त्रीहरू सभामा नफर्किएपछि बिहीबारको बैठक साँझ अबेर आजका लागि सारिएको थियो ।
माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले सुरुमा बिहीबार आधा घण्टा, त्यसपछि एक घण्टा हुँदै शुक्रवारकालागि बैठक स्थगित गर्न आग्रह गरेका थिए । त्यसपछि बैठक शुक्रवारका लागि सारिएको थियो ।
मुख्यमन्त्री कार्कीले संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था अनुसार विश्वासको मत मागेका थिए ।
उपधारा ९३० मा उपधारा ९२० बमोजिम पेस भएको प्रस्ताव प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतले पारित हुन नसकेमा मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ ।
नयाँ सरकारको अन्योल
मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाएपछि बन्ने नयाँ सरकार कसको नेतृत्वमा बन्ने भन्नेमा पनि दलहरूभित्रको आन्तरिक प्रतिस्पर्धाले अन्योल छ । २९ जना सांसद रहेको काँग्रेस र सभामुखसहित १३ सांसद रहेको माओवादीबिच सरकारको नेतृत्वका विषयमा रस्साकस्सी चलिरहेको छ । दुवै दलले सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग गर्दै आएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०