काठमाडौँ । नदीजन्य विपद् जोखिम घटाउन सवैभन्दा प्रभावकारी उपाय मानिएको पूर्वसूचना प्रणालीको विस्तार नहुँदा यसपटक पनि नदी किनारका बस्तीमा विपदको जोखिम कायमै छ ।
हरेक वर्षायाममा नदी किनारका बस्ती बाढीको उच्च जोखिममा रहने भए पनि अधिकांश नदीमा पूर्वसूचना प्रणाली जडान गरिएको छैन ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ६ जिल्लाका ३४ स्थानमा मात्रै विपद्बारे पूर्व सूचना प्रणाली जडान गरिएको छ ।
नेपालमा ६ हजारभन्दा बढी नदीनाला रहेकोमा विषेश गरी पहाडी भेगका धेरै नदीकिनारका बस्ती अव्यवस्थित छन् ।
प्राधिकरणका अनुसार १० वर्षमा बाढीका कारण १ हजारभन्दा बढीको मृत्यु भएको छ भने १८ अर्व रुपैयाँभन्दा बढीको नोक्सानी भएको छ ।
प्राधिकरणका प्रवक्ता ध्रुबबहादुर खड्काले पुरानो प्रविधिले राम्रोसँग काम नगरेपछि नयाँ प्रविधिको भर्खरै विकास भएको र अरू विषयमा बढी केन्द्रीत भएकाले विपद् पूर्व सूचना प्रणाली विस्तारमा चासो कम भएकै बताउनुभयो ।
अब प्रणाली जडान कार्य सुरू भएपछि तीव्र रूपमा भइरहेको उहाँले बताउनुभयो ।
आगामी आर्थिक वर्षमा थप १२ स्थानमा पूर्व सूचना प्रणाली विस्तार गर्ने प्राधिकरणले जनाएको छ ।
तर यो पर्याप्त नहुने विपद् विज्ञहरूले बताउँदै आएका छन् ।
ईन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको विपद् अध्ययन केन्द्रका उपनिर्देशक डाक्टर बसन्तराज अधिकारीले अधिकारीका अनुसार पूर्व सूचना प्रणालीले बाढीबाट हुने मानिसको मृत्युलाई कम गराउन सक्छ ।
बाढी आउँछ भनेर पूर्वसूचना मात्रै दिएर नहुने बाढीको क्षतिको पूर्वानुमान गरी सोही अनुसारको तयारी गर्न आबश्यक पर्ने उहाँले बताउनुभयो ।
विपद् पूर्वसूचना प्रणाली विपद्का घटना हुनुभन्दा अगाडि शब्द, आवाज वा कुनै सङ्केत दिने यान्त्रिक प्रणाली हो ।
यसले विपद् आउँदैछ भनेर सूचना दिने भएकाले बाढीका कारण हुने मानवीय र आर्थिक क्षति कम गराउन सहयोग पुग्ने विज्ञहरूको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८०, ०७:४३