काठमाडौँ । वीरगन्ज सुक्खा बन्दरगाहमा पहिलो पटक सामान भित्रिएको छ । ३६ सय मेट्रिक टन कोइला बोकेको भारतीय रेल आज वीरगन्ज सुक्खा बन्दरगाहमा आइपुगेको बन्दरगाहका कार्यकारी निर्देशक आशिष् गजुरेलले जानकारी दिनुभयो ।
गत पुस २४ गतेदेखि नै ‘डस्टी कार्गो’ का रूपमा सामान आउन थाले पनि यस अघि भारतको रक्सौलसम्म रेलमा र त्यहाँबाट ट्रकमा वीरगन्ज एकीकृत जाँच चौकीसम्म ल्याउने गरिएकोमा अब बन्दरगाहसम्मै रेलबाट ल्याउन थालिएको उहाँले बताउनुभयो ।
यसअघि वीरगन्ज सुक्खा बन्दरगाहमा डस्टी कार्गो व्यवस्थापनको लागि आवश्यक भौतिक पूर्वाधार नहुँदा सामान रक्सौलमा झारेर त्यहाँबाट ट्रकमा नेपाल ल्याउनु पर्ने बाध्यता रहेको मानव स्वास्थ्यमा असर नपर्ने गरी कार्गो व्यवस्थापनको लागि आवश्यक भौतिक पूर्वाधार तयार गरिएको छ ।
'डस्टी कार्गो'अन्तर्गत नेपालमा क्लिंकर, सिमेन्ट, कोइला, डन्डी, मल खाद, नुनलगायत सामान नेपालमा आयात गरिन्छ ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८०, १७:५९