विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरू भएको छ ।
हिक्मत कार्की नेतृत्वको सरकारले प्रदेश सभामा बहुमत गुमाएको ३ दिन पछि प्रदेश प्रमुख परशुराम खापुङ्ले नयाँ सरकार गठनका लागि आगामी बिहीबार बेलुकी ५ बजेसम्ममा बहुमत सदस्यको हस्ताक्षरसहित दाबेदारी पेस गर्न आग्रह गर्नुभएको हो ।
कुनै एक दलको मात्र बहुमत नरहेकाले दुई वा दुईभन्दा धेरै दलको समर्थनमा नयाँ सरकार गठनको दाबी पेस गर्न आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सरकार गठनका लागि निर्णायकमध्ये एक दल राप्रपाले सरकारमा सहभागी हुने वा नहुने निर्णय गरिसकेको छैन । राप्रपासँग काँग्रेस र माओवादीका नेताहरूले छलफल गरिरहेका छन् ।
तर, प्रदेशसभामा ६ सिट भएको राप्रपाले काँग्रेस–माओवादीको गठबन्धनसँग मुख्यमन्त्री आफूले पाउनुपर्ने दाबी गरेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राप्रपा सरकारमा सहभागिताका बारेमा छलफलमै रहेको र अहिलेसम्म कुनै निर्णय नभएको बताउनुभयो ।
प्रदेशसभाको ठुलो दल नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाले राप्रपाले नेतृत्व दाबी गरे पनि आफूहरू पार्टीको केन्द्रीय नेतृत्वले गर्ने निर्णय कुरेर बसेको बताउनुभयो । ९३ सदस्यीय कोशी प्रदेशसभामा राप्रपाको ६ सिट छ ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८०