हरिभक्त कटुवाल थिए नै त्यस्तै । जस्तो, कहिल्यै लय मिलाएर बाँचेनन् । सिलसिला मिलाएर हिँडेनन् । योजना बनाएर लेखेनन् । काम मिलाएर भेटेनन् । र सन्दर्भ मिलाएर गफ गरेनन् ।
उनी हिँडे, फुक्काफाल । भट्टी चाहारे, साथीभाइ खोज्न । पीपलबोटदेखि महांकाल गुर्जुको पसल, खिचापोखरी, भोटाहिटी, बागबजारभित्रै कतै भट्टीमा भेटिन्थे । मस्त पिउँथे । पिएरै पनि कविता लेखे । पिएर लेखेका कति कविता हराए । तर, हराएको गुनासो गरेनन् ।
कहिले चिटिक्क मिलाएर सुट लगाए । अनि लगाएको सुट नसम्हाली ल्याङ्फ्याङ पनि हिँडिदिए ।
हरिभक्तलाई मन्दिरमा भेटेको छु, भन्नेहरु पनि छन् । हरिभक्तलाई नालीमा लडेको देखेको छु, भन्नेहरु पनि छन् । हरिभक्तलाई दुई छाक खाना खुवाएको गफ दिनेहरु त झनै धेरै छन् ।
तर, हरिभक्तको डेरा देखेको थिएँ, भन्नेहरु कमै छन् । कसैले पुतलीसडकमा भेटे । कसैले नयाँ सडकमा भेटे । कसैले ठमेलमा भेटे । कसैले कुनै अपरिचित गल्लीमा देखे ।
वास्तवमा उनी एकै ठाउँ लामो समय बसेनन् । पैसा अभाव भएपछि निरन्तर डेरा सरिरहे । लजमा पनि बसे ।
उनले काम पनि अनेकतिर गरे । एकेडेमीमा जागिरे भए । साझा प्रकाशनमा काम गरे । पत्रिकाको सम्पादक भए । प्रेसको काम गरे । होटेलमा भाँडासमेत माझे ।
हरिभक्तले जिन्दगी अनियन्त्रित बाँचे । जति बाँचे रहरले बाँचे । यो त्यही काठमाडौँ हो, जहाँ हरिभक्त कटुवाल कवि बने । मस्तले रक्सी पिए । नाम र बदनाम दुवै कमाए । जाँदा खेरी काठमाडौँसँग चित्त दुखाएर गए । ‘भट्टीमा सँगै रक्सी पिउनेहरु कोही आफ्ना नभएको’ गुनासो गरेर गए । फेरि कहिल्यै नआउने घोषणा गरेर गए । र आएनन् पनि ।
०००
झापामा भएको कार्यक्रममा कविता भन्दाभन्दै सटको टाँकै च्यातेर छातीका करङ्ग देखाएपछि उनी काठमाडौँ आएका थिए ।
केदारमान व्यथित प्रज्ञा प्रतिष्ठानको उपकुलपति थिए । प्रतिष्ठानले २०२३ सालतिर साहित्य सम्बन्धी दोस्रो राष्ट्रव्यापी सेमिनार गरेको थियो । त्यही कार्यक्रमका लागि सिलोङका कवि कृष्णप्रसाद ज्ञवालीसँगै आसामबाट हरिभक्त कटुवाल झापा आइपुगेका थिए ।
झुस्स दारी पालेको । रक्सी नखाए पनि खाएजस्तो अनुहार । कटुवाल नेपालमा चिरपरिचित कवि थिएनन् । तर, आसाममा राम्रै चिनिएका थिए ।
कटुवाल कविता सुनाउन मञ्चमा चढे । मञ्चमा उभिँदासम्म खास प्रभावशाली देखिएका थिएनन् । तर, कविता सुनाउन थालेपछि उनले सबैलाई आफूतिर खिचे । जब कविता सुनाइसके, उनले कविताको भावमा आफ्नो ‘पागलपन’ देखाए । कविताको आशय यस्तो थियो–
जन्मिँदै आमाको लाम्टा चुसेँ
ठूलो भएपछि लेमन जुस चुसेँ
पछि रक्सीका बोतल चुसेँ
चुस्दाचुस्दै मैले मेरो रगत पनि चुसेँ
उनले कविता वाचन गरिसक्ने बित्तिकै सटका टाँक ध्वार्ररर उधारे । दुब्ला हरिभक्तले छातीको करङ् देखाए ।
गडडड ताली बज्यो ।
कार्यक्रमको सभापतित्व गरिरहेका कवि केदारमान व्यथित खूब प्रभावित भए । उनले बोलाएर भने, “तिमीजस्तो कवि आसाम बस्ने हो ? काठमाडौँ आऊ ।”
उनी काठमाडौँ आए । व्यथितले आफ्नै घरमा राखे । तर, उपयुक्त काम दिन सकेनन् ।
हरिभक्त आफूलाई आसामतिरको नेपालीभाषी ठूलो कवि ठान्थे । उनी प्राज्ञ बन्ने आशाामा काठमाडौँ आएका थिए । व्यथितले भने उनलाई प्रज्ञा प्रतिष्ठानमा खरिदारको जागिर दिलाइदिए ।
व्यथित त्यति बेला ‘हिमानी’ पत्रिका निकाल्थे । उनको नेतृत्वमा ‘साहित्य संस्थान’ भन्ने संस्था गठन भएको थियो । त्यसको कार्यालय नयाँ सडकमा जुद्धशमशेरको सालिकबाट उत्तरतिर थियो । त्यही संस्थाको नाममा प्रज्ञा प्रतिष्ठानले झापाको कार्यक्रम गरेको थियो ।
नेपाल आएको केही समयपछि व्यथितले हरिभक्तलाई हिमानीको सम्पादक बनाए । दुई चार सय तलब पाउन थाले । उनको बसोबासको व्यवस्था संस्थानकै कार्यालय नयाँ सडकमा भयो ।
यसरी उनी पीपलबोटका ‘छिमेकी’ भए । थरी थरीका पीपलबोटे साहित्यकारका समूहसँग उनको भेट हुन थाल्यो । अनि सम्बन्धहरु गाँसिदै गए ।
हिमानीको सम्पादक भएका कटुवाल दिउँसो एकेडेमीमा पनि जागिर खान्थे । केही समयपछि कटुवालले बहिनी ज्वाइँ कलाकार बलराम थापालाई पनि आसामबाट काठमाडौँ झिकाए । थापाले समीक्षा पत्रिकामा कार्टुन बनाउँथे । उनलाई अरु ठाउँमा काम खोज्न लागि परेका थिए । दुवैको बसाइ नयाँ सडकमै थियो ।
त्यस बखत भैरव अर्याल पनि नयाँ सडकतिरै डेरा बस्थे । भैरव अर्याल र रोचक घिमिरे कटुवाललाई भेट्न गइरहन्थे । भैरव र रोचक एक दिन बिहानै कटुवालको कोठामा पुगे । उनीहरु पुग्दा कोठाको वातावरण राम्रो थिएन । गिलासहरु फुटेका । सामान यत्रतत्र छरिएका । अनि जेठान–ज्वाइँ दुवै नबोली बसेका ।
अघिल्लो दिन जेठान र ज्वाइँले मात्तिने गरी रक्सी खाएछन् । त्यसपछि ग्लास र बोतल मात्र होइन कोठामा भएका सामानले झटारो हानाहान गरेछन् । बिहान उठ्दा दुवैलाई लाज भएछ । अनि नबोली बसेका थिए । भैरव र रोचकले उनीहरुको बोलचाल खुलाइदिएका थिए।
०००
दुई ठाउँमा जागिरे भएका हरिभक्तसँग खल्तीमा प्रायः पैसा हुन्थ्यो । उनका पछि लाग्ने साहित्यकार पनि धेरै थिए । यसकारण पछि लाग्थे कि, उनी रक्सी खाएको पैसा आफैँ तिरिदिन्थे ।
तर, उनी नेपाल बसाइमा खुसी थिएनन् ।
भारततर्फबाट नेपाल आएका प्रायः साहित्यकार र कलाकारले राम्रै जागिर र सम्मान पाए । अम्बर गुरुङ प्राज्ञ नै बने । हरिभक्त पनि प्राज्ञ बन्ने आशाका साथ आएका थिए । कम्तीमा पनि सह–प्राज्ञ हुने उनको विश्वास थियो । उनी समानका लेखकहरु कोही प्राज्ञ र कोही सह–प्राज्ञ थिए । तर, उपकुलपति केदारमान व्यथितले उनलाई प्रज्ञा प्रतिष्ठानको जागिरे मात्र बनाए । त्यसमा उनले चित्त बुझाएनन् ।
जागिर खाएको केहीपछि एक दिन नशाको सुरमा राजीनामा दिए । केदारमानले राजीनामा खल्तीमा राखे, स्वीकृत गरेनन् ।
व्यथितले हरिभक्त लगायत केही साहित्यकारलाई एक दिन खाना खान बोलाए । अनि प्रज्ञा प्रतिष्ठानका लागि आफ्ना योजना सुनाए । त्यही क्रममा हरिभक्तले भने, “मेरो एउटा राजीनामा त स्वीकृत गर्न सक्नुहुन्न, तपार्ई अरु के काम गर्नुहुन्छ ? यी सबै तपाईंका गफ हुन् ।”
त्यहाँ व्यथितले केही प्रतिक्रिया जनाएनन् । भोलिपल्ट हरिभक्त प्रज्ञा प्रतिष्ठानको कार्यालय पुग्दा टेबलमा राजीनामा स्वीकृत भएको चिठी थियो । उनी प्रज्ञा प्रतिष्ठानबाट निस्किएपछि अलपत्र परे ।
कृष्णचन्द्रसिंह प्रधान साझाका महाप्रबन्धक थिए । उनले हरिभक्तलाई जागिर दिए । तर, हरिभक्तले कामै गरेनन् । टन्न रक्सी खाने, हल्लिने, गफ गर्ने । अरु काम गर्ने कर्मचारी पनि असन्तुष्ट भए । कृष्णचन्द्रलाई मुस्किल पर्यो । अनि उनको अस्थायी नियुक्तिको समयावधि थप भएन ।
०००
पुतलीसडकमा डेरा बस्दा हरिभक्त कटुवाल कोठामा ताल्चा लगाउँदैन थिए । भन्थे, “यो कोठा पनि मजस्तै उदार छ, त्यसैले बेवारिसे छाडिदिने गरेको छु ।” खासमा, उनको कोठामा चोरी हुने सामग्री नै केही थिएन । रित्तो ।
उनी डेराबाट निस्किएपछि भारतको क्रिेकेट खेल भएको दिन बागबजारतिर प्रत्येक पसल र रेष्टुरेन्टमा आकाशवाणी रेडियोको प्रत्यक्ष प्रसारण सुन्दै हिँड्थे । पेन्टर र पसलेहरुलाई कसले कति रन बनायो सोध्थे । उनलाई साहित्य र रक्सीजत्तिकै क्रिकेटको पनि नशा थियो । तर, उनको डेरामा रेडियो थिएन ।
पैसा नभएकै कारण उनी अक्सर कोठामा खाना खाँदैन थिए । बरु कोठामा रक्सीका बोतल हुन्थे । खाना खान त उनी साथीभाइका डेरा पुगिरहन्थे । निरन्तर होइन, दुई वा तीन दिनमा, जब अति भोक लाग्छ ।
०००
उनले २०३२ सालतिर आफ्ना परिवारलाई आसाम नै पुर्याएर एक्लै नेपाल आए ।
जब दोस्रो पटक नेपाल आए, रक्सी नै उनको साथी बन्यो । बिहानदेखि नै रक्सी पिउँथे । भात खानका लागि भन्दै पाँच वा दश रुपैयाँ सापटी माग्थे र त्यो पैसाले पनि रक्सी पिउँथे । त्यति बेला बिरलै साहित्यकार हुनुपर्छ, जसले हरिभक्तलाई पैसा सापटी नदिएको होस् । पछि त धेरै साहित्यकार उनीसँग तर्किएर हिँड्न थालेका थिए ।
एक पटक पीपलबोटमा उभिइरहेका ओममणि शर्मासँग उनले भने, “भाइ दश रुपैयाँ निकाल त ।”
ओममणिले भने, “किन दाइ भात खाएको छैन ?”
“भात होइन, औषधि लिनुपर्यो । अलिक ब्लड प्रेसर बढेको छ ।” हरिभक्तले भने । तिनताका उनी उच्च रक्तचाप मात्र नभइ अल्सरबाट पनि पीडित थिए ।
“दश रुपैयाँ त होइन दाइ, मसँग पाँच रुपैयाँ मात्र छ,” ओममणिले भने ।
“त्यही भए पनि निकाल ।”
उनी पैसा लिएर नयाँ सडक पारि गए । अनि रञ्जना हलको बाटो देब्रेतिर लागे । उनी रक्सी पिउन गल्लीको भट्टीतिर गएका थिए ।
त्यही साँझ पीपलबोटमा भेट भएपछि ओममणिले भने, “दाइ तिमी रक्सी होइन, विष खाइरहेका छौ ।”
हरिभक्तले भने, “म लाचार छु भाइ ! मभित्र नियालेर हेर, अनि यसले पिएको ठीकै रहेछ भन्ने जानौला । जहानहरु प्रवासमा, आफू यहाँ, न गाँसको ठेगान छ, न त बासको । भन त, चित्त बुझाउने आधार केही त चाहिन्छ... ।”
रक्सी नखान सुझाव दिनेलाई उनी यसै भन्थे ।
उनी घटाघटी पिएर ‘एक हाफ’ त एक श्वासमै सकिदिन्थे । यस्तै सम्झना ध्रुव सापकोटाले मलाई सुनाएका हुन् ।
नयाँ सडकमा भेटिएका हरिभक्तले उनलाई रक्सी खुवाउन भनेछन् । उनीहरु खिचापोखरीको एक रेष्टुरेन्टमा पसे । एक हाफ मगाएर ध्रुव सापकोटा शौचालय गए । आउँदा त बोतल रित्तो थियो । हरिभक्त अर्कै संसारमा पुगिसकेका थिए । उक्त घटना पोखिएर घामको झुल्को... गीत रेकर्डिङ हुँदै गर्दाको समयको थियो । हरिभक्त गीतकारका रुपमा पनि चिनिन थालिसकेका थिए ।
पोखिएर घामको झुल्को... गीत लेखनको रोचक सन्दर्भ हरिभक्त साथीभाइहरुलाई सुनाइरहन्थे । उनी रमागृहको पूर्वपट्टी गल्लीसँग जोडिएको लजमा बस्थे । उनको कोठाबाट पारिपट्टी फोटो कन्सर्न बसेको घर थियो । उक्त घरसँगै जोडिएको अर्को घरको कौशीमा बिहानै घाम ताप्न एउटी युवती बाहिर निस्कन्थिन् । तिनै युवतीलाई हेरेर बिहानकै समयमा आफूले गीत लेखेको उनले त्यति बेलाका धेरै साहित्यकारलाई सुनाएका थिए ।
०००
उनीसँग स्रोतालाई आकर्षित गर्नसक्ने खुबी थियो ।
साथी र शुभचिन्तकहरूप्रति हरिभक्तको चित्त दुखाइ थियो । उनी भन्थे, “काठमाडौँमा रक्सी नखाने मान्छे मैले अत्ति नै कम भेटेको छु, तर मलाई मात्र बदनाम बनाए ।” त्यति बेला पीपलबोट धाउने तर, रक्सी नखाने साहित्यकार कमै थिए । साहित्यिक पत्रकार संघले २०३६ सालमा आयोजना गरेको वनभोजमा पनि उनले रक्सी खाएर मातेका साहित्यकारलाई देखाउँदै भनेका थिए, “रक्सीले मात्तिने यिनीहरु, बदनाम चाहिँ हरिभक्त कटुवाल !”
०००
हरिभक्तसँग पिउन बसेपछि उनी जस्तो मान्छे उस्तै गफ गर्न थाल्थे । विश्वम्भर चञ्चलहरुसँग रक्सी खाएपछि गीत गाइदिन्थे । अक्सर मलाई नसोध कहाँ दुख्छ घाउ... दोहोर्याइ तेहर्याइ सुनाउँथे । नयाँ रचनाहरु पनि सुनाउँथे ।
महाबौद्धबाट भोटाहिटीतिर निस्कने गल्लीमा एउटा भट्टी थियो, गुर्जुको होटेल । होटेल ठूलो थिएन । नयाँ सडकमा भेला हुने कतिपय साहित्यकारको अखडा यो होटेल पनि थियो । कणाद महर्षि, शैलेन्द्र साकार, सन्तोष भट्टराई र हरिभक्त कटुवाल, इश्वर बल्लभ लगायत साहित्यकार त्यहाँ गइरहन्थे । कहिलेकाहिँ तुलसी दिवस पनि हुन्थे ।
त्यति बेला हरिभक्त समस्यामा फसिसकेका थिए । जागिर थिएन । त्यसैले उनीसँग पैसा हुँदैन थियो । गुर्जुका लागि साहित्यकारहरु नियमित ग्राहक थिए । उधारो पनि चल्थ्यो ।
त्यो पसलमा एकपटक हरिभक्त, तुलसी दिवस लगायत थिए । नारायण ढकालको छुट्टै समूह पनि थियो । माथिल्लो तलामा रक्सी पिएर बसेका ।
नारायण ढकालहरु लेखनमा नयाँ थिए । उनीहरुको समूह अराजक थियो ।
सबै जना मात्तिइसकेका थिए । नारायण ढकालको समूहका एक जनाले तुलसी दिवसलाई गाली गर्न थाले । नराम्रा शब्दले मुखै छाडे । कोही एक जनाले त कुनाको हाँडीमा पिसाब नै फेरिदिए । त्यसपछि तुलसी दिवस, हरिभक्तहरु डराएर भागे । हरिभक्त समेत डराएर भाग्नु दुर्लभ घटना नै हो । नत्र उनी मात्तिएपछि लुरुक्क हिँड्दैन थिए ।
पीपलबोट आसपास साहित्यकारहरुका यस्ता धेरै हर्कत चर्चाको विषय हुन्थे ।
०००
२०३० सालको दशकमा बागबजारमा रामभाइ तण्डुकारले चलाएको ‘रामदाइको नेवारी खाजाघर’ पनि साहित्यकारको जमघट हुने ठाउँ थियो । २०३४ सालपछि त हरिभक्त प्रायः रामदाइको भट्टीमै भेटिन्थे । बिहानैदेखि रक्सी पिउँथे । लर्बरिएका खुट्टा, लठ्ठिएका आँखा, जिङ्ग्रिङ्ग कपाल, दुब्लो शरीर उनको हुलिया थियो ।
एक साँझ सिंहदरबारस्थित कृषि विकास बैंकका जागिरे शैलेन्द्र साकार कार्यालय सकेर निस्किँदा दीपक जोशी र विनोद दीक्षितसँग भेट भयो । उनीहरु राम दाइको खाजाघर पुगे । शैलेन्द्रलाई देखेपछि उनले भने, “ल साकार भाइ, ६२ पैसा हानौं ।” एक गिलास लोकल रक्सीको ६२ पैसा पर्थ्यो ।
तर, एक गिलास थप्नेबित्तिकै हरिभक्त खोक्न थाले । लगातार खोकी लाग्यो । खोक्दा खोक्दै त्यहीँ ढले । दीपक जोशी र विनोद दीक्षित भएर ट्याक्सीमा वीर अस्पताल लगे । त्यहाँ द्वारिका श्रेष्ठसँग भेट भयो । उनैको जिम्मा लगाएर अरु फर्किए । उपचारका लागि पैसा चाहिए पनि द्वारिकाले तिर्न सक्छन् भनेर अरु फर्किएका थिए ।
हरिभक्तसँग द्वारिका घनिष्ट थिएनन् । एक दुई पटक सँगै बसेर रक्सी भने पिएका हुन् । “रक्सी खाएपछि उदण्ड हुने हरिभक्तको स्वभावका कारण म उनीसँग टाढै हुन्थे,” द्वारिका सम्झन्छन् ।
अचेत भएर अस्पताल पुर्याएपछि हरिभक्तलाई सँगै रक्सी खानेले छाडेर हिँडे । उपचारका लागि भर्ना गरिदिएपछि द्वारिका पनि केही पैसा छाडेर आफ्नो बाटो लागे । हरिभक्त एक्लै अस्पतालको बेडमा पल्टिरहे ।
भोलिपल्ट बिहान उनलाई केही आराम भएको थियो । उनले नर्सलाई बोलाएर एक गिलास पानी मागे । घटाघट् पिएपछि नर्सलाई ‘धन्यवाद’ भनेर निस्किए । बिहान उनको खबर बुझ्न गएका रक्सी खाने साथीहरुले तिनै नर्सबाट यी सबै घटना थाहा पाए ।
हरिभक्त लगातार जसो अचेत भएर सडकमा लडेको भेटिन थालेका थिए । मोहन घिमिरेले एक पटक नयाँ सडक पेटीमा बिहानै लडिरहेको भेटेर उद्वार गरेका थिए ।
जाडोको समय । हरिभक्त टाइ–सुटमै थिए । बिहानै मोहन घिमिरे र नारायण ढकाल नयाँ सडकतिर पुगेका थिए । मोहनको हरिभक्तसँग राम्रो सम्बन्ध थियो । लडिरहेको देखेपछि उठाएर उनलाई पठाउन मोहनले ट्याक्सी रोके । दश रुपैयाँ माग्यो । ट्याक्सीलाई तिर्ने त्यति पैसा मोहनसँग थिएन । नारायण ढकालले आफूसँग भएको दुई रुपैयाँ दिए । पीपलबोटमा आएका चिनजानका सँग पैसा मागेर ट्याक्सीमा हालेर पठाइदिए ।
तर, हरिभक्तले घरै बताउन सकेनछन् । उनी धोबिधारा बस्थे । ट्याक्सीले दश रुपैयाँ नसकिउन्जेल धोबिधारा घुमाएछ । त्यसपछि एउटा पार्टीमा छाडिदिएर हिँडेछ ।
“पछि पीपलबोटमा हरिभक्तले नै आफूले डेरा पत्ता लगाउनै नसकेको सुनाएका थिए,” नारायण ढकाल भन्छन् ।
०००
हरिभक्तलाई टीबी थियो । नेपालबाट आसाम फर्किँदा गम्भीर बिरामी भइसकेका थिए । एकदम कमजोर । ज्यान थिग्रिदैन थियो । दिशा, पिसाब पनि नियन्त्रण हुँदैन थियो । लुगा बिग्रिन थालेको थियो ।
२०३७ सालमा हरिभक्तका बुवाको मृत्यु भएको खबर आयो । तर, आफैँ सिकिस्त बिरामी थिए । खल्तीमा आसामसम्म पुग्ने पैसा पनि थिएन । त्यसैले जान सकेनन् ।
उनीसँग सबैभन्दा निकट नगेन्द्रराज शर्मा थिए । नगेन्द्र साहित्यिक पत्रकार संघको सभापति पनि थिए । हरिभक्तले नगेन्द्रसँग आफूलाई आसाम पठाइदिन आग्रह गरे ।
नगेन्द्रले समीक्षा साप्ताहिकमा एउटा वक्तव्य छपाए । त्यसमा लेखिएको थियो, “हरिभक्त कटुवाल बिरामी हुनुहुन्छ, उहाँलाई सहयोगको अपेक्षा छ ।”
हरिभक्तको स्थायी रुपमा बस्ने ठाउँ थिएन । गम्भीर बिरामी भएका उनलाई नगेन्द्रराज शर्माले फसिखेबको संगम लजमा राखेका थिए । बिरामी भएको वक्तव्य छापिएपछि लेखक साहित्यकार उनलाई हेर्न आउन थाले । सिद्धिचरण श्रेष्ठ, अम्बर गुरुङ लगायत साहित्यकारले सहयोग गरेका थिए । उनी आसाम फर्किने अघिल्लो दिन जेठ १३ मा पनि उनलाई भेट्न अनिता तुलाधर, अशेष मल्ल, धीरेन्द्र मल्ल, गिरिराज जोशी, शिव अधिकारी, गोविन्द गिरी प्रेरणा, ध्रुव मधिकर्मी लगायत साहित्यकार संगम लज पुगेका थिए । उनको सहयोगमा निकै पैसा जम्मा भइरहेको थियो । प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशनलगायत संस्थाले पनि सहयोग गरे ।
उठेको पैसाले उनको उपचार भयो । नेपालबाट फर्किन नगेन्द्र र गगन विरहीको सहयोग थियो । उनीहरुले नै एउटा टिनको ट्याङ्का किनिदिए । त्यसमा श्रीमती र छोराछोरीका लागि लुगाफाटो र सरसामान पनि किनेर राखिदिए ।
आसाम फर्किनु केही दिनअघि कपाल र दारी काटेका थिए । उनको मुहार नै फरक देखिएको थियो ।
झापाको काँकडभिट्टा जाने गाडी बिहानै पुतलीसडकबाट लाग्थ्यो । भोलिपल्ट बिहानै नयाँ सडकबाट पुतलीसडक पुग्न पैदलबाहेकको विकल्प थिएन । हरिभक्त पैदल जान सक्ने अवस्थामा थिएनन् । उनलाई नगेन्द्र र गगनले अघिल्लो दिन साँझ पुतलीसडकस्थित बसपार्क पुर्याउने भए । उनले रातभर बसपार्कमा बस्नुपर्ने भयो ।
...
गगन विरहीले हरिभक्तलाई फसिखेबबाट नयाँ सडक हुँदै ट्याक्सीमा पुतलीसडक लिएर हिँडे । त्यो नै नयाँ सडकमा उनको अन्तिम दिन थियो ।
ट्याक्सीको पछिपछि बाइकमा नगेन्द्र थिए । पुतलीसडक लज पुर्याएपछि नगेन्द्र त्यहाँबाट हिँडे । केही छिन बसेर गगन पनि हरिभक्तसँग बिदा भए । भोलिपल्ट बिहान उनको बिदाइमा कोही लेखक साहित्यकार भेला भएनन् ।
उनी धेरै पटक आसाम जान बसपार्कसम्म पुगेर फर्किएका थिए । त्यहीकारण पनि कतिपय साहित्यकार बिदा गर्न गएनन् । उनलाई आसामदेखि लिन आएका भान्जा पनि दुई दिनअघि नै काठमाडौँमा बेपत्ता भएका थिए । उनी काठमाडौँमै बस्न चाहन्थे । त्यसैले फेरि हरिभक्तलाई भेट्न आएनन् ।
हरिभक्त काठमाडौँमा देखे/भोगेका मान्छे सबैसँग बेखुसी थिए । आसाम फर्किने अघिल्लो दिन लजमै भेट्न गएका अम्बर गुरुङलाई उनले भनेका थिए, “एकेडेमीमा त गिद्धहरु मात्र बसेका छन्, हामी अटाउन सक्दैनौँ । आसाम नेपालभन्दा धेरै ठूलो छ । तिमी पनि उहीं हिँड । त्यहाँ म तिमीलाई पाल्न सक्छु ।”
नेपालबाट फर्किँदा २०३७ जेठ १४ मा हरिभक्त लाहुरेझैँ टिनको ट्याङ्का बोकेर गए । तर, त्यो ट्याङ्का भरि दुख, पीडा, आक्रोश र पश्चाताप मात्र थियो ।
संगम लजमा भेट्न पुगेका साहित्यकारहरुसँग उनले घोषणै गरेका थिए, “अब कहिल्यै काठमाडौँ आउँदिन । नेपाल आए पनि झापा, धरान वा विराटनगरसम्म मात्र आउँछु ।” तर, उनी नेपाल नै आउन पाएनन् । एकैपटक उनको मृत्युको तार आयो ।
उनी जेठ १८ मा आसाम पुगे । उनको बुवाको ‘४५ दिनको काम’ जेठ २२ मा थियो । जेठ २४ मा अस्पताल भर्ना भए । उपचार चलिरहेको थियो । भदौ २५ मा उनको मत्यु भयो ।
आसामबाट एनबी रिजालले दुई वटा तार एकसाथ नगेन्द्रराज शर्मा र तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानका हरिहर शर्माको नाममा पठाए । त्यही तारले हरिभक्त कटुवालको मृत्युको खबर नेपाललाई दिएको थियो ।
(जङ्क्सन पिपलबोट पुस्तकबाट)
प्रकाशित मिति: सोमबार, असार १८, २०८०, ११:४०