काठमाडौँ । दश वर्षे सशस्त्र युद्धको पृष्ठभूमिमा लेखिएको उपन्यास ‘गोधूलि गीत’ सार्वजनिक भएको छ । आख्यानकार भानु बोखिमले लेखेको ‘गोधूलि गीत’ काठमाडौँमा कवि श्यामल, आख्यानकार नवीन विभास, कवि नरेन्द्रकुमार नगरकोटी र लेखक बोखिमले संयुक्त रुपमा विमोचन गर्नुभयो । कार्यक्रममा लेखकसँग पत्रकार, निबन्धकार दीपक सापकोटाले अन्तरक्रिया पनि गर्नुभएको थियो ।
कवि श्यामलले ‘गोधूलि गीत’ युद्धको सजीव दस्तावेज भएको बताउनुभयो । ‘सरल भाषामा माओवादी युद्ध बुझ्न यो उपन्यास पढ्नुपर्छ’, उहाँले भन्नुभयो, ‘अति सामान्य मान्छेको युद्धकालीन आख्यान हो यो, जसलाई थाहा छ व्यवस्था ठिक छैन, अत्याचार ठिक छैन, परिवर्तन चाहिन्छ । जीवन्त रुपमा युद्धको अक्षरीकरण गर्छ उपन्यासले ।’
नवीन विभासले, ‘उपन्यास रोल्पाका ईश्वरी बुढामगर, धनबहादुर, कुमार, खड्गबहादुरहरुको जीवनको एक समयको भयानक कथा हो ।’ ‘कसरी ईश्वरीहरु र ईश्वरीका बा धनबहादुरहरु विद्रोह गर्न पुग्छन् ? परिवर्तनको लागि इमानदार मान्छेहरु, जो ससाना सपनाहरु बोकेर युद्धमा सामेल भए, ती कसरी तड्पिए र पिल्सिए ? तिनका जिन्दगीमाथि किताबले प्रश्न गरेको छ ।’
‘युद्धका असरबिचको यात्रापछि रोल्पा र तपाईंको पात्र ईश्वरीलाई कस्तो देख्नुभयो ?’ दीपक सापकोटाको प्रश्नमा लेखक बोखिमले भने, ‘कसैलाई युद्ध मन परोस् वा नपरोस्, यसले कसैलाई लाभ होला कसैलाई क्षति, तर युद्धले सबै जनतालाई भयानक असर गरेकै हुँदोरहेछ’, उनले भने, ‘मेरा पात्रहरु भयानक संकटबाट गुज्रिए । म चाहन्छु, उनीहरुको सपना पूरा होस् ।’
कलम प्रकाशनले बजारमा ल्याएको उपन्यासको मूल्य ६९५ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति: सोमबार, असार १८, २०८०, १२:५५