ललितपुर । काठमाडौँ उपत्यकाका प्रसिद्ध तीन सहरमध्ये पाटन सबैभन्दा पुरानो सहर मानिन्छ। प्राचीन कालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले चिनिन्थ्यो। पाटन सहर बरदेवले स्थापना गराएका हुन् । पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा रहेकाे छ । सत्रौँ शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदाले यो क्षेत्र सिँगारिएको छ ।
यो दरबार क्षेत्र राजपरिवारको निवास र त्यस बेलाको प्रशासनको मूल केन्द्र पनि थियो । पाटन दरबारको जग कसले बसाएको भन्ने आधिकारिक प्रमाण छैन । तथापि सन् १०२४-१०४० को अवधिमा लक्ष्मीकामदेवले गरेको भन्ने किंवदन्ती छ। वि. सं. १६७५ तिर पाटनका स्वतन्त्र राजा भएका सिद्धिनरसिंह मल्लले तत्कालीन मनिङ्गल राजप्रासादलाई विस्तार गर्नुका साथै कलाकृतिले सिँगारेको इतिहास छ । उहाँले नै आफ्ना इष्टदेवता तलेजु भवानी (तुलजा भवानी)को मन्दिर र देगुतले मन्दिरको पनि निर्माण गराउनुभएको हो ।
कृष्ण मन्दिर यहाँको आकर्षक स्थल हो । सन् १६९३ मा मुख्य दरबारको पश्चिमपट्ट निर्माण गरिएको शिखर शैलीको २१ गजुर भएको विशुद्ध प्रस्तर जडित कृष्ण मन्दिर यस क्षेत्रको आकर्षणको केन्द्रका रूपमा छ। कृष्ण मन्दिरकै छेउमा रहेको नेपाली वास्तुकलाको उत्कृष्ट नमुनाका रूपमा रहेको भीमसेनको मन्दिर श्रीनिवास मल्लले बनाएका हुन्। पाटन दरबारमा मुख्य ३ वटा चोकहरू छन्। ती हुन्- केशवनारायण चोक, मूल चोक र सुन्दरी चोक। केशवनारायण चोक सबैभन्दा पुरानो चोक हो। यसको निर्माण यसै व्यक्तिबाट भएको हो कतै किटान भएको पाइँदैन। तैपनि वि. सं. १७३१ तिर राजा श्रीनिवास मल्लको शासनकालमा यसको जीर्णोद्धार भएको पाइन्छ। पाटन दरबारमा मल्लकालमा ७ वटा चोक (न्हुछे आगन, किसी, सहापु, न्हासल, दाफोस्वाँ र कुमारी) थिए।सुन्दरी चोक पाटन दरबारको महत्त्वपूर्ण ठाउँ हो। यहाँ नेवारी वास्तुकलाका अनुपम उदाहरणहरू देख्न सकिन्छ। यसको निर्माण सिद्धिनरसिंह मल्लले नै गराएकाे इतिहास छ ।
यसै क्षेत्रमा रहेको प्रसिद्ध मणिमण्डपको निर्माण वि. सं. १७५८ मा योगनरेन्द्र मल्लले गराएको शिलालेख छ । यी राजालाई आजसम्म पनि जीवित राजाका रूपमा मानिन्छ। दरबारको उपल्लो तलाको पश्चिमपट्टीको एक कोठाको झ्याल खुला राखी उहाँका लागि एउटा शयन कक्ष अद्यापि तयार नै राखिएको छ। दरबार अगाडि रहेको आफ्नो सालिकको टाउकोमा एउटा चरा पनि छ। उनले 'आफू मर्ने बेलामा त्यो मानव निर्मित चरा उडेर नगएसम्म आफूलाई ज्युँदै छ भन्ठान्नू' भनेका किंवदन्ति पनि प्रचलित छ ।
(विकिपिडियाबाट)
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०, ०६:०८