काठमाडाैँ । नेपालले १६ वर्ष मुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा नेपालले मलेसियालाई २ सय २१ रनले हराएकाे हाे ।
२ सय ५३ रनको लक्ष्य पाएको मलेसियालाई १५ औँ ओभरमा ३१ रनमै अलआउट गरेपछि नेपालले फराकिलो जित हात पार्न सफल भयो ।
नेपालको जितमा कप्तान अभिषेक तिवारीले मात्र सात रन खर्चेर छ विकेट लिनुभयो । यस्तै सन्तोष यादवले तीन तथा सागर गैरे र अशोक धामीले एक एक विकेट लिनुभयो । लेसियाका मोहम्मद अक्रमले १० रन बनाउनु बाहेक अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मलेसियामा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाई २ सय ५२ रन बनाएको थियो । नेपालका नरेन भट्ट ११२ रनमा अविजित रहनुभयो । उहाँले ८२ बलमा १ सय रन पूरा गर्नुभएको थियो । उहाँले ८९ बल खेल्दै १० चौका र २ छक्का प्रहार गर्नुभयो । यस्तै ओपनरद्वय निरज यादवले ४१ र सन्तोष यादवले २६ रनको योगदान गर्नुभयो ।
प्रतियोगितामा नेपालले कुनै पनि खेल हारेन । नेपालले समूहचरणमा मलेसिया र थाइल्यान्डलाई तथा सेमिफाइनलमा सिंगापुरलाई हराएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०, १२:५०