काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग्दै एमालेले संसद्का दुवै सदनको बैठकमा अवरोध गरेको छ। प्रधानमन्त्री प्रचण्डले एउटा कार्यक्रममा नेपाल र नेपालीको हित विपरीत अभिव्यक्ति दिएकाले उहाँले राजीनामा दिनुपर्ने एमालेले माग गरेको हो ।
बुधवार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ एमाले सांसद रघुजी पन्तले समय लिएर, आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति आपत्तिजनक रहेकाले उहाँको राजीनामा नआएसम्म बैठक अगाडि बढ्न नसक्ने बताउनुभयो ।
त्यस लगत्तै एमालेका सबै सांसद उठेर विरोध जनाएका थिए । सभामुख घिमिरेले आधा घण्टाका लागि स्थगित गर्नुभएको बैठक बस्न नसकेपछि भोलीसम्मका लागि स्थगित गर्नुभएको छ ।
त्यसअघि बसेको राष्ट्रिय सभाको बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्रीको राजीनामा माग गर्दै विरोध गर्नु भएको थियो । ३ बजे बस्ने गरी स्थगित गरिएको राष्ट्रियसभाको बैठक पनि भोली मात्र बस्ने भएको छ । एमालेको मागमा रास्वपा लगायत दलले पनि साथ दिएका छन् ।
यसैबिच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलले गलत प्रचार गरिरहेको आरोप लगाउनुभएको छ । काठमाडौँमा पार्टी निकट विद्यार्थी सङ्गठनले गरेको कार्यक्रममा उहाँले यो विषयमा विपक्षी दलमा पूर्वाग्रह देखिएको दाबी गर्नुभयो ।
प्रकाशित मिति: बुधबार, असार २०, २०८०, १९:४३