सोरुका खनाया, जिमा, भिई, नार्थपु, बुम्च लगायत स्वास्थ्य चौकीहरुमा सिटामोल सहित औषधिको अभाव छ ।
मुगु । औषधि अभावमा मुगुको दुर्गम क्षेत्रका बिरामी समस्यामा परेका छन् । स्वास्थ्य चौकीले सिटामोल समेत उपलब्ध गराउन नसक्दा मुगुको उत्तरी गाउँपालिका सोरुका स्वास्थ्य चौकीमा उपचार लिन आउने बिरामी समस्यामा परेका हुन् । स्थानीयका अनुसार स्वास्थ्य चौकीहरुमा सिटामोल जस्ता सामान्य औषधि समेत पाउन मुस्किल छ ।
सोरु गाउँपालिका–६ पुरुमुरुका कालिबहादुर शाहीलाई तीन महिना देखि पेट दुख्ने, नशा झमझमाउने जस्ता स्वास्थ्य समस्या देखिएका छन् । तर स्थानीय स्वास्थ्य संस्थामा न पर्याप्त औषधि छ, न त गतिलो उपचार । स्वास्थ्य चौकीले ग्यास्ट्रिकको औषधि दिएर पठाएको तर आफ्नो स्वास्थ्य समस्या समाधान नभएको शाही बताउनुहुन्छ ।
उपचार गर्न आएका बिरामीले एउटा चक्की सिटामोल पाउन समेत पाउँदैनन् । सोरु गाउँपालिकाले समयमै खरिद नगर्दा र खरिद गरिएका औषधि पनि स्वास्थ्यचौकीसम्म नपुग्दा उपचारमा समेत अप्ठ्यारो परेको स्वास्थ्य चौकी जिमाका ईन्चार्ज कर्णबहादुर साँवतको भनाई छ ।
सोरुका खनाया, जिमा, भिई, नार्थपु, बुम्च लगायत स्वास्थ्य चौकीहरुमा सिटामोलसहित औषधिको अभाव छ । जिल्ला स्वास्थ्य कार्यालयबाट आएको औषधि र पालिकाले खरिद गरेको औषधि अबको केही दिनमा स्वास्थ्य चौकीहरुमा पठाउने तयारी भईरहेको सोरु गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक तथा स्वास्थ्य शाखा प्रमुख चरित्र धामीले बताउनु भयो । स्वास्थ्य चौकी आफैँले पनि जिल्ला स्वास्थ्य कार्यालयमा आवश्यक औषधिको माग गर्न सक्ने उहाँको भनाई छ ।
सोरु गाउँपालिकामा अहिले १४ वटा स्वास्थ्य चौकी छन् । तर औषधिको अभाव मात्रै होईन, ति स्वास्थ्य केन्द्रहरुले जनशक्तीको अभाव पनि झेलिरहेका छन् । गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले पनि औषधि र जनशक्ती अभाव रहेको कुरा स्वीकार्नुभयो । उहाँले पालिकाले पर्याप्त बजेट छुट्याउन नसकेको बताउँदै समस्या समाधानको पहल भईरहेको बताउनुभयो ।
नेपाल सरकारले निशुल्क रुपमा ९८ प्रकारको औषिध वितरण गर्दै आईरहेको छ तर सोरुका स्वास्थ्य चौकीहरुमा १० प्रकारका औषधि पाउन पनि मुस्किल छ ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०, ०७:३८