काठमाडाैँ । सरकारले युवा स्वरोजगार र नवप्रवर्तनका लागि अहिलेसम्म १३ अर्ब भन्दा बढी रकम लगानी गरेको छ ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत यो रकम लगानी गरिएको हो । त्यसबाट एक लाख दुई सय १० जना स्वरोजगार भएको र ८० हजार एक सय ६८ जनाका लागि रोजगारी सृजना गरिएको कोष सचिवालयका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिनुभयो ।
देशमै रोजगारी सृजना गर्ने र युवाहरूलाई नवप्रवर्तनमा सघाउने सरकारको योजना अनुरूप कोषले बैङ्क तथा वित्तीय संस्था मार्फत विना धितो सहुलियत ब्याजदरमा दुई लाख रुपैयाँसम्म लगानी गर्दै आएको छ ।
कोषले दुई हजार ६ सय ५७ सहकारी र ४० वटा बैङ्क तथा वित्तीय संस्था मार्फत सहजीकरण गर्दै आएको कार्यकारी निर्देशक अधिकारीले सीआईएनसँग बताउनुभयो ।
‘निम्न वर्ग, पिछडिएका समुदाय र सीमित श्रोत साधनबाट उद्यमशीलता सृजना गर्न सक्नेलाई हामीले बिना धितो दुई लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउँदै आएका छौँ ।’ उहाँले भन्नुभयो, ‘त्यस्ता व्यक्तिले सम्बन्धित पालिकाको रोजगार सेवा केन्द्र, युवा तथा साना व्यावसायिक स्वरोजगार कोष र युवा तथा खेलकुद मन्त्रालयमा सम्पर्क गर्न सक्छन् ।’
स्वरोजगार र नवप्रवर्तनका लागि वार्षिक एक लाख जनाले आवेदन दिने गरेकोमा त्यस अनुसार बजेट नहुँदा समस्या भएको उहाँले बताउनुभयो । चालु बजेटअनुसार कोषले १२ हजार जनासम्मका लागि मात्रै रकम लगानी गर्न सक्ने क्षमता छ ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०, १०:४८