विराटनगर । कोशी प्रदेशकाे मुख्य मन्त्रीमा नेपाली काँग्रेसका उद्धव थापा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्ले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम थापालाई मूख्य मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
गठबन्धनमा रहेका दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा आज थापाले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष दाबी पेस गर्नुभएको थियो ।
उहाँले सभामुख बाबुराम गौतमसहित ४७ जना सांसदको समर्थनमा दाबी पेस गर्नुभएको हो । त्यसैका आधारमा प्रदेश प्रमुखले नियुक्त गर्नुभएको हो ।
९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ । काँग्रेसका २९, सभामुखसहित माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ सांसदको हस्ताक्षर लिएर प्रदेश प्रमुखसमक्ष थापाले दाबी पेस गर्नुभएको हो ।
प्रदेशमा एमालेका ४०, राप्रपाका ६ र जसपाका एक सांसद छन् । तर नेकपा एमालेले भने थापालाई मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखको ध्यानाकर्षण गरेको थियो । नेकपा एमाले संसदीय दलले प्रदेश प्रमुख खापुङलाई ध्यानाकर्षण पत्र बुझाउँदै सभामुखलाई गणना गरेर थापालाई मुख्य मन्त्री नियुक्त गर्न नहुने माग गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०