काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गरेको नतिजा पोहोरभन्दा सुधार भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसपटक माथिल्लो जीपीए ल्याउनेको संख्या पोहोरभन्दा धेरै रहेकाले एसईईको नतिजा पोहोरको तुलनामा राम्रो रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।
यसवर्ष २२ हजार ४७५ जना (४.६३ प्रतिशत)ले ३.६ देखि ४ जीपीए ल्याएका छन् । पोहोर कुल परीक्षार्थीको १.९४ प्रतिशतले मात्र ३.६ देखि ४ जीपीए ल्याएका थिए ।
त्यस्तै गत वर्ष ८.४ प्रतिशत परीक्षार्थीले ३ दशमलव २ देखि ३ दशमलव ६० जीपीए ल्याएकोमा यस वर्ष बढेर ११.३६ प्रतिशत पुगेको छ । यसैगरी, २ दशमलब ८ देखि ३ दशमलब २ जीपीए ल्याउनेको सङ्ख्या ७२ हजार ३६२ जना र २ दशमलब ४ देखि २ दशमलव ८ जीपीए ल्याउनेको सङ्ख्या ८९ हजार ३ सय ३१ जना रहेको छ । सबैभन्दा धेरै २ देखि २ दशमलब ४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको सङ्ख्या १ लाख २ हजार २९३ रहेको छ ।
एसईईमा १ दशमलब ६ देखि २ दशमलब ० जीपीए ल्याउनेको सङ्ख्या ८८ हजार ४ सय ४७, १ दशमलब २० देखि १ दशमलब ६० जीपीए ल्याउने ३८ हजार ७७० र ० दशमलब ८० देखि १ दशमलब २० जीपीए ल्याउनेको सङ्ख्या २ हजार २ सय रहेको छ । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।
बोर्डका अध्यक्ष शर्माले कोभिड–१९ को महामारी सकिएको र विद्यार्थीले पढ्ने समय पर्याप्त पाएकाले नतिजामा सुधार भएको बताउनुभयो ।
विद्यालय र कक्षाकोठाको अवस्था सुधार भएको तथा परीक्षा प्रणालीमा पनि सुधार भएकाले नतिजा राम्रो आएको उहाँले बताउनुभयो । बोर्डले यस वर्षदेखि अंग्रेजी, गणित र विज्ञान विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०, १७:५१