काठमाडौँ । प्रधानमन्त्रीको राजीनामाको माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि सदनको अवरोध कायमै राख्ने भएको छ ।
मुलुकको स्वाभीमानमा आँच पुर्याउने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएको भन्दै एमालेले आजको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक चल्न नदिने भएको हो ।
सीआईएनसँग कुराकानी गर्दै एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीको दल मात्रै नभएर नेपाली काँग्रेस पनि राष्ट्रियताविरुद्ध उभिएको टिप्पणी गर्नुभयो ।
हिजो बालुवाटारमा बसेको काँग्रेससहितको सत्ता गठबन्धन बैठकले प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने र संसदमा प्रतिपक्षी दलको सामना गर्ने निर्णय गरेको थियो ।
चार दिनअघि काठमाडौँमा भएको एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउनका लागि पटकपटक दिल्ली गएको भन्दै प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रीतम सिंहको प्रशंसा गरेपछि उहाँको आलोचना भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०, ०९:४२