विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले २ जनालाई मन्त्री नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री थापाले नेपाली काँग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जबेगुलाई विना विभागीय मन्त्रीमा नियुक्त गर्नुभएको हो । जबेगु पाँचथर र सुनुवार ओखलढुङ्गाबाट प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको हो ।
मुख्यमन्त्री थापाले आजै शपथ ग्रहण गर्नुभएको छ । थापालाई प्रदेश प्रमुख परशुराम खापुङ्ले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
थापा भने झापाबाट समानुपातिक प्रदेश सांसद बन्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री थापाले शुक्रवार नै पद बहाली गर्नुभएको छ । पद बहाली गर्दै कोशी प्रदेशलाई आत्मनिर्भर बनाउन र लगानीमैत्री वातावरण निर्माणमा जोड दिने बताउनुभयो । कोशी प्रदेशमा बाढी, पहिरोबाट धेरै जनधनको क्षति भएकाले सतर्कता अपनाउन पहल थाल्ने पनि स्पष्ट पार्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०