काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन एक जना भारतीय नागरिकले प्रयत्न गरेको बारेको आफ्नो भनाइ भावनाको उपज भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उक्त भनाइबारे स्पष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले आफूले उक्त भनाइ राजनीतिक प्रसङ्गमा नभनेको भए पनि अहिले सम्झँदा आफूलाई उक्त कुरा नभनेको भए हुन्थ्यो भन्ने लागेको बताउनुभएको हो ।
‘म थोरै भावनामा आएँ । मनमा आयो भनेँ । त्यसैले त प्रचण्ड हो,त के गर्नुहुन्छ ? प्रधानमन्त्रीले भन्नुभयो– प्रधानमन्त्रीको रूपमा मैले त्यो भाषा बोल्नुहुन्नथ्यो । त्यो दिन म ज्ञानुको बुवा भएर बोलेको थिएँ ।’
आफ्नो भनाइबारे स्पष्टीकरण दिँदै प्रचण्डले भन्नुभयो, ‘त्यो दिन एउटा प्रधानमन्त्री बोलेको नभई एक बिरामी छोरीको कृतज्ञ बाबु बोलेको थियो ।’
उहाँले आफू बढी भावुक हुने विशेषताको नेता भएको स्मरण गर्दै यो बानीलाई सुधार्न कोसिस गरे पनि सम्भव नभएको बताउनुभयो । उहाँले आफूलाई प्रधानमन्त्री बनाउने दल र सांसदहरूले नै आफूलाई कसले प्रधानमन्त्री बनायो भन्दै विदेशी शक्तितर्फ इशारा गर्नुले आफूलाई अचम्मित बनाएको पनि बताउनुभयो ।
स साना विषयमा प्रधानमन्त्रीको राजीनामा माग्ने र राजीनामा माग्नासाथ प्रधानमन्त्रीले राजीनामा दिने कुरा असम्भव भएको भन्दै उहाँले यस्तो क्रम राजनीतिक दलले अब त्याग्नुपर्ने बताउनुभयो । अर्को प्रसङ्गमा उहाँले मिटरब्याजी पीडितलाई न्याय दिलाउन ल्याएको विधेयक संसद्मा प्रतिस्थापन विधेयकका रूपमा रहेको र पीडितलाई न्याय दिलाउने काममा एमाले लगायत विपक्षी दल पनि सहमत हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८०