मानसिक स्वास्थ्य र आत्महत्याको सम्बन्ध
सरकारको तथ्याङ्कका अनुसार नेपालमा दैनिक १८ देखि २० जनाले आत्महत्या गर्ने गरेका छन् । विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले र भारतमा हरेक २ मिनेटमा एकजनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाउँछ ।
मानसिक स्वास्थ्य समस्या र आत्महत्याको सिधा सम्बन्ध रहेको छ । ६० प्रतिशत आत्महत्याको कारण डिप्रेशन अर्थात गम्भीर प्रकारको उदाशिनतासँग सम्बन्धित छ ।
आत्महत्याको समग्र कारणमा ९० प्रतिशत मानसिक स्वास्थ्य समस्या हो ।
मानसिक स्वास्थ्य समस्या भएको थाहा पाउने तरिका
मानिस उदाश देखिने, कुनै पनि कामममा जाँगर नहुने, निद्राभोक खलबलिने क्रम २ हप्ता लगातार चल्यो भने मानसिक स्वास्थ्य समस्या भयो कि भनेर अनुमान लगाउन सकिन्छ ।
समयमै विज्ञलाई भेट्यो र समाधानका लागि कदम चाल्यो भने औषधिबिना पनि उदाशिनता लगायतका मानसिक स्वास्थ्य समस्या निको पार्न सकिन्छ ।
वंशाणुगत गुणका कारण पनि व्यक्तिमा डिप्रेसन देखिन सक्छ । अन्तरमुखी अर्थात घुसघुसे स्वभावका व्यक्ति डिप्रेसनमा जाने जोखिम धेरै हुन्छ ।
आर्थिक समस्या वा सम्बन्धमा देखा पर्ने दरार, प्रतिष्ठामा आउने आँचका कारणा पछिल्लो समय मानिसहरुमा मानसिक स्वास्थ्य समस्या देखिने गरेको छ ।
आत्महत्या अघि व्यक्तिमा देखिने लक्षण
कुनै व्यक्तिले आत्महत्याअघि देखाउने लक्षण वा विशेषतालाई मेडिकलको भाषामा "चेतावनीयुक्त चिन्ह" भनिन्छ ।
"म मर्न चाहान्छु वा बाँच्न मन लाग्दैन, कसरी मर्ने होला, म त पृथ्वी, परिवार र समाजको भार भएँ।" यस्तो भषा वा बोली जोखिममा भएका व्यक्तिबाट सुनिन्छ ।
उनीहरुको व्यवहारबाट पनि हामी अनुमान लगाउन सक्छौँ । एकान्तमा एक्लै बस्ने, सानोतिनो कुरामा रिसाउने, झर्किने, बढी सुत्ने वा थोरै सुत्ने, अत्यधिक मादक पदार्थ सेवन गर्ने, विचलित स्वभाव देखाउनेहरूले पनि आत्महत्याको सोँच बनाउन सक्छन् ।
आत्महत्याको जोखम टार्नका लागि गर्नुपर्ने काम
स्वास्थ्य मन्त्रालयलगायतका सरकारी तथा गैरसरकारी निकायबाट मानसिक स्वास्थ्य समस्याका बारेमा हटलाइन नम्बर पनि चलाएका छन् ।
सम्बन्धित व्यक्तिलाई हटलाइन नम्बरमा उपलब्ध हुने मनोविमर्शकर्ता वा अरु विज्ञसँग कुरा गराउन सकिन्छ । परिवारका सदस्यले पनि खुलेर कुरा गर्ने वातावरण मिलाउनुपर्छ ।
यसो भएमा व्यक्तिले आफ्नो विचार परिवर्तन गर्न सक्छ ।
परिवारका सदस्य र साथीभाइले धेरैभन्दा धेरै समय आत्महत्याको जोखिममा रहेका व्यक्तिसँग बिताउनुपर्छ । उसको कुरा सुन्नुपर्छ ।
डोरी, किटनाशक औषधि वा घरमा निन्द्रा लगाउने औषधि कसैले खाइरहेको छ भने जोखिममा रहेका व्यक्तिबाट टाढा राख्नुपर्छ ।
आत्महत्याको सोच बनाएको व्यक्तिले फेरि त्यस्तो निर्णय लिन्छ
यो निजको व्यक्तित्व र सामाजिक परिवेशमा भर पर्छ । कडा खालको तनावमा छ र उसले मादक पदार्थको प्रयोग गर्दै आएको छ भने आत्महत्याको प्रयास दोहोर्याउन सक्छ ।
औषधि खाएर केही समयमा नै मानसिक स्वास्थ्यमा देखिएको समस्या निको हुन्छ तर घर, परिवार, समाजले राम्रो साथ दिनुपर्यो ।
उसको मनमा भएका विचारहरु बाहिर ल्याउने हो भने थप समस्या भए पनि समाधान खोज्नका लागि सजिलो हुन्छ ।परिस्थिति हेरेर लामो समयसम्म पनि काउन्सिलिङ गर्नुपर्ने हुन सक्छ ।
मानसिक रुपमा स्वस्थ रहनका लागि
- स्वस्थ जीवनशैली अपनाउने ।
- रातिमा ७ देखि ८ घण्टा सुत्नुपर्छ ।
- बिहान १ घण्टा योगाध्यान वा हिँडाइका लागि समय छुट्याउनुपर्छ ।
- दैनिक काम एकाग्र भएर गर्ने ।
- ड्रग्स वा रक्सी, खैनी केही खानु हुँदैन ।
अन्तमा कोरोना महामारी र गोरखा भूकम्पपछि धेरैमा मानसिक समस्या देखियो तर सबैले जीवनभर औषधि खानुपरेको छैन । निश्चित समयमा औषधि सेवन गरेर बिरामी निको भएका उदाहरण हामीसँग छन् ।
समयमै मानसिक स्वास्थ्य समस्या पहिचान भयो र उपचार गरियो भने जुनसुकै मानसिक समस्या पनि समाधान गर्न सकिन्छ ।
मानसिक स्वास्थ्य समस्या भयो र औषधि चलायो भने परिरवारका सदस्यले "जीवनभर औषधि खुवाउनुपर्यो वा परिवार तथा समाजको प्रतिष्ठामा आँच आयो" भनेर बुझ्ने तथा व्याख्या गर्न भएन ।
घरमा कसैलाई मानसिक स्वावस्थ्य समस्या भएमा पनि समयमै निको बनाउनका लागि पनि परिवारकै सदस्यको भूमिका महत्वपूर्ण हुन्छ ।
भिडिओ कुराकानी हेर्नुहोस्ः
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०, १०:५७