काठमाडौँ। पाल्पा, रैनादेवीछहराको लेक सल्लेरी क्षेत्रमा ३८ वर्ष अघिसम्म नाङ्गो डाँडा मात्रै देखिन्थ्यो । स्थानीयवासी टिकाराम पोखरेलसहित उपभोक्ताले बर्सेनि रुख रोप्न थाले पछि यो क्षेत्र अहिले हरियाली भएको छ ।
पोखरेलका अनुसार उति बेला हरियालीका लागि रोपिएको बिरुवाले पानीको स्रोत संरक्षणमा पनि टेवा पुगेको छ । ‘पाल्पाको धेरै ठाउँमा खानेपानीको मुहान सुक्न थालेका छन् हाम्रो गाउँमा मुहान सुकेका छैनन्’ पोखरेलले भन्नुभयो, ‘बिरुवा नर्हुकँदासम्म त माटोलाई रोक्नै सकिएन अहिले त आसपासका मुहानमा सङ्लो पानी बग्छ ।’
वृक्ष रोपण सामान्यतया पहिरो र भूक्षय नियन्त्रण गर्न, रुख बेचेर आम्दानी गर्न, सौन्दर्य बढाउन बढी केन्द्रित भएको पाइन्छ । काठमाडाैँ उपत्यकालगायत सहरी क्षेत्रमा गरिने वृक्ष रोपण सौन्दर्यमा बढी केन्द्रित हुने गरेको छ ।
वन तथा भू–संरक्षण विभागका सूचना अधिकारी सबनम पाठकले कोटेश्वरदेखि ग्वार्को क्षेत्रमा गरिएको वृक्ष रोपण सहरलाई सुन्दर बनाउनसँगै स्वच्छ वातावरणका लागि गरिएको जानकारी दिनुभयो । पानीको मुहान सुक्दै गएका समाचार बढिरहेका बेला धरानका मेयर हर्क साम्पाङले पानीको मुहान बचाउने बिरुवाबारे सोधिखोजी गरेपछि थप चर्चा भएको थियो ।
वृक्ष रोपण गर्ने सबै व्यक्ति र निकायले यस्तै खोजी गर्नुपर्ने समुदायमा आधारित वन सहजकर्ता सञ्जाल नेपाल कप्सनका संस्थापक अध्यक्ष भोला खतिवडा बताउनुहुन्छ । ‘सामान्यतया वृक्ष रोपण गर्दा कुन बिरुवा सजिलै हुर्कन्छ भन्नेमा विशेष ध्यान दिइन्छ, पछिल्लो केही समय यता भने निजी जग्गामा वृक्ष रोपण गर्दा चाहिँ बहुआयामिक बिरुवा छनोट गर्ने, फलफूलमा केन्द्रित हुने अभ्यास भइरहेको छ’ खतिवडाले भन्नुभयो ।
कुन प्रजातिका बिरुवाले पानी जोगाउँछन् भन्ने विषयमा ध्यान नै नपुगेको उहाँको भनाइ छ । पानीको संरक्षण गर्ने उद्देश्यले पनि वृक्ष रोपण हुनुपर्ने र यसका लागि कुन बिरुवाले पानी जोगाउँछ भन्ने विषयमा अध्ययन हुन सके सबैलाई सहज हुने उहाँले बताउनुभयो । एक जना मानिसलाई दैनिक साढे १७ किलोग्राम अक्सिजन चाहिन्छ । जुन आवश्यकता ७ वटा रुखले पूर्ति गरिदिन्छन् ।
खेतीका लागि पोषक तत्त्व, जैविक विविधताको संरक्षण, प्राकृतिक प्रकोप न्यूनीकरण, मात्र होइन बिरुवा रोप्दा जल चक्रको नियमन पनि हुन्छ । अर्थात् रुखहरूले बर्सातको पानीलाई जमिनमुनि भण्डारण गरी मूल फुटाउन सहयोग गर्दछन् । वन विज्ञ सुफिल गोपाल आचार्य पानीका लागि बिरुवाको छनोटसँगै झाडीको पनि उत्तिकै आवश्यकता हुने बताउनुहुन्छ । ‘रुख मात्रै लगाउँदा आम्दानीको स्रोत हुन सक्छ तर पानी बचत हुन सक्दैन फेरि पानीलाई मात्रै लक्षित गरियो भने आम्दानी नहुन सक्छ ।’
यस्तो अवस्थामा ‘रुखहरूको बिचको जमिनमा केही घामका किरणहरू पर्नेगरि झाडीलाई पनि हुर्कन दिनुपर्छ, ठूलो रुख, सानो रुख अनि झाडी तीन तहलाई मिलाउन सकिए जमिनको माटोसँगै पानी पनि बच्छ’ आचार्यले भन्नुभयो । जङ्गलमा प्राकृतिक रूपमा रहेका पानी अमलालगायतका झाडीलाई फडानी गर्न नहुने वन विज्ञ आचार्यको भनाइ छ । ‘कतिपय स्थानमा झाडीलाई निमिट्यान्न पार्न जङ्गलमा आगो लगाउने गरिन्छ यो एकदमै गलत हो, रुखले मात्रै पानी जोगाउन सक्दैन ।’
झाडीलाई पनि सँगै बढ्न दिनुपर्ने उहाँको विचार छ । सल्लाजस्ता सुइरो पाते बिरुवाले आसपासका बिरुवा फस्टाउन नदिने र जमिन मुनी पानी जानै नदिने भएकाले बकाइनू सिसौ, लाँकुरी, उत्तिस, पयौँलगायत चौडा पाते बिरुवा रोप्नुपर्ने वन विज्ञ बताउँछन् ।
नेपालमा वि.सं. २००२ देखि औपचारिक रूपमा रुख रोप्ने काम अर्थात् वृक्ष रोपण सुरु भएको थियो । वृक्ष रोपण वातावरण जोगाइराख्न मात्र नभई आर्थिक र सामाजिक धेरै कारणले महत्त्वपूर्ण छ । पछिल्लो समय सुख्खापन बढ्न थालेको छ जसले पानीका मुहान सुक्न थालेका छन् । पानीका स्रोत जोगाइराख्न पनि वृक्ष रोपण गर्दा बिरुवाको छनोटमा पनि ध्यान दिनुपर्ने देखिन्छ ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०, १५:२३