काठमाडौं । मिडिया विधेयकमा विपक्षमा उभिएका सञ्चारसंथा क्लिन फिड नीतिमा सरकारको पक्षमा उभिएका छन्। सञ्चारसँग सम्बन्धित विभिन्न संघसंस्थाले सरकारले क्लिन फिडको नीति लागू गर्ने निर्णय गरेकामा स्वागत गरेका छन् ।
सामुदायिक रेडियो प्रसारक संघ(अकोराब), नेपाल मिडिया सोसाइटी, नेपाल विज्ञापन संघ (आन), ब्रोडकास्टिङ एशोशिएशन अफ नेपाल (वान) ले संयुक्त प्रेस विज्ञप्तीनिकाली सरकारको नीतिको स्वागत गरेका हुन । धेरै वर्षदेखि नेपाली मिडियाहरुले नेपाल सरकारसँग क्लिन फिड नीति लागू गर्न माग गर्दै आइरहेको सन्दर्भमा सरकारको निर्णय स्वागतयोग्य भएको विज्ञप्तीमा जनाइएको छ ।
मन्त्रिपरिषदको २०७३ साउन ७ गतेकोे बैठकले क्लिन फिड नीति पारित गरेको थियो । सरकारले विज्ञापन सम्वन्धी व्यवस्था गर्न बनेको विधेयकमा ‘क्लिन फिड’ नीति लागू गर्ने व्यवस्था गरेको छ । अकोराब नेपालका अध्यक्ष सुवास खतिवडासहित सस्थाका अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तीमा स्वदेशी उत्पादन र उद्योगलाई समेत यो नीतिले सहयोग र विस्तारका लागि प्रवद्र्धन गर्ने र परनिर्भरतलाई समेत कम गर्न सघाउ पु¥याउने उल्लेख छ ।
विदेशी च्यानलमा विज्ञापनरहित स्वच्छ र छनोट गरिएको सामाग्रीमात्र हेर्न पाउनु प्रत्येक नेपाली नागरिकको अधिकार हो भन्दै विज्ञप्तीमा उल्लेख छ ‘ यो कानून लागु भएपछि पैसा तिरेर पनि अन्य मुलुकको विज्ञापन हेर्नुपर्ने वाध्यकारी व्यवस्थाको अन्त्य हुनेछ ।’
राज्यले आफ्नो देशको भाषा, संस्कृति र व्यवसायको प्रवद्र्धन र सम्वद्र्धनका लागि यो व्यवस्था गर्नैपर्ने भन्दै ती संघसंस्थाहरुले क्लिन फीड लागू भएपछि नेपाली कला, संस्कृति र सिर्जनशीलताको समेत विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६, ०६:४७