काठमाडौँ । पूर्वी नेपालका विभिन्न ठाउँमा ठूलो पानी परेपछि तराईमा डुबानको जोखिम बढेको छ ।
खोला तथा नदीहरूमा पानीको बहाव उच्च बनेको छ । खोलाहरुमा जल सतह बढेर खतराको तह आसपासमा पुगेसँगै तटीय क्षेत्रमा जोखिम बढेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
शाखाका अनुसार बिहान ३ बजेतिरबाट मोरङ, सुनसरी, झापालगायतका ठाउँमा चट्याङसँगै पानी परिरहेको छ ।
यसले डुबान, कटान र बाढीको जोखिम बढेको भन्दै नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ ।
यसैबीच आज दिउँसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको मौसमविद् गोविन्द झाले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार आज रातिलाई भने देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।
म्याग्दीको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहमा पहिरोले क्षति पुर्याएको छ ।
धवलागिरि गाउँपालिका-२ लुलाङस्थित ४२ किलोवाट क्षमताको विद्युतगृहमा माथिको भीरबाट खसेको पहिराले क्षति भएको वडाध्यक्ष अकप्रसाद विकले जानकारी दिनुभयो ।
उहाँका अनुसार कतिपय उपकरण पहिरोले दरमखोलाको बगरसम्म नै पुर्याएको छ । मुख्य पाइप लाइनमा समेत क्षति भएको छ ।
विद्युत आपूर्ति बन्द भएपछि वडा नम्बर २ का बासिन्दा बिजुलीबाट बञ्चित भएका छन् । परियोजनाबाट उत्पादन भएको बिजुलीबाट वडा नम्बर २ का लुलाङ, लमसुङ र खोरियाका करिब चार सय परिवार लाभान्वित भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०