काठमाडाैँ । एसीसी इमर्जिङ टिम्स कप पुरुष क्रिकेटमा नेपालले पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य दिएको छ । श्रीलङ्कामा टस जितेर ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १७९ रनमा अलआउट भएको हो ।
नेपालका सोमपाल कामीले ७५ रन बनाउनुबाहेक अरु ब्याटरको भूमिका सम्झनलायक रहेन । सोमपालले १०१ बलमा नौ चौका र दुई छक्का प्रहार गर्नुभयो ।
यसबाहेक प्रतिश जीसीले २६, कुशल मल्ल र अर्जुन साउदले १७–१७, गुल्सन झाले १३ र आसिफ शेखले १२ रन बनाउनुभयो ।पाकिस्तानका शहनावाज दहानीले पाँच र मोहम्मद वासिमले चार विकेट लिनुभयो ।
प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल रहेको समूह ‘बी’मा पाकिस्तान र भारतका ए टोली र यूएई रहेको छ। अर्को समूहमा अफगानिस्तान, श्रीलंका, बाङ्लादेश र ओमन छन्।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०, १३:३६