काठमाडाैँ । लेखक रमेश सायनको पन्यास ‘अन्तर’ सार्वजनिक भएको छ। काठमाडाैँको मण्डला थिएटरमा आयोजित कार्यक्रममा ब्लगर तथा समलिङ्गी लेक्स लिम्बू लेखक रमेश सायन र संचारकर्मी रूपेश श्रेष्ठले पुस्तकको लोकार्पण गर्नुभएको हो ।
अन्तर मुख्यगरी समलिंगी पुरुष पात्रको भोगाइमा आधारित उपन्यास हो ।
पुस्तकबारे रुपेश श्रेष्ठसँगको अन्तरसंवादमा लेक्सले लैंगिकतालाई अब फरक दृष्टिकोणले हेर्न नहुने बताउनुभयो । ‘मैले २५ वर्ष पुग्दा मात्रै म समलिङ्गी हुँ, म फरक हुँ भनेर परिवारका सदस्यलाई भन्न सकेको थिएँ। तर अब समय र समाजको चेतना फरक भैसक्यो। त्यसैले अब जन्मको प्राकृतिकतालाई नेपाली समाजले स्वीकार्न सक्नुपर्छ’ उहाँले भन्नुभयो । आफ्नो भोगाइ र उपन्यासको पात्र 'शब्द' को भोगाइ समान रहेको उहाँको भनाइ छ ।
नेपाली समाजमा समलैंगिकता आजसम्म पनि सर्वस्वीकार्य नरहेको स्मरण गर्दै उहाँले यसबारे खुलेर बहस हुनुपर्ने र राज्यको नीति निर्माण तहले यो विषयलाई विषयान्तर गर्न नहुने लेक्सको भनाइ छ ।
लेखक सायनले फरक विषयमा उपन्यास लेख्न निकै चुनौती भए पनि नेपाली समाजमा आजसम्म नलेखिएको विषयमा उपन्यास लेख्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो- ‘यो विषयमा मैले लेख्न सक्नु नै यो समाजको विषयसँगको मेरो गहिरो साक्षात्कार हो !’ लोकार्पण समारोहमा अनुप न्यौपानेले उपन्यासको एक अंश नाट्यरुपान्तरण गरी प्रस्तुत गरेको दृश्यबाट सुरू भएको कार्यक्रममा उपन्यासका पात्रहरूका संवाद ध्वनिमा प्रस्तुत गरिएको थियो।
बुकहिल प्रकाशनले प्रकाशन गरेको उपन्यासको मूल्य ५५५ रुपैयाँ रहेको छ।
सायनका यसअघि 'भागेर भूगोलभरि' (कविता संग्रह) र पद्मश्री साहित्य पुरस्कार विजेता निबन्ध 'छुटेका अनुहार' प्रकाशित छन्।
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०, १८:०४