काठमाडौँ । अध्यादेश निष्क्रिय भएका कारण प्रतिनिधि सभामा अलपत्र मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक आज पारित गर्ने सरकारले तयारी गरेको छ ।
विधेयक अगाडि बढाउन सरकारमा रहेका दलहरू सहमत भए पनि विपक्षी दलहरूले प्रक्रिया छोट्याउन नहुनेमा जोड दिएका छन् ।
आजको प्रतिनिधिसभामा दफावार छलफल सकेर पारित गर्ने सत्तारूढ दलहरूको तयारी छ । संसद् सचिवालयले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधि सभाको आजको बैठकको सम्भावित कार्यसूचीमा राखेको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ र सत्तापक्षीय दलका प्रमुख सचेतकबीच उक्त विधेयक अघि बढाउने सहमति हिजो भएको छ ।
सरकारले गएको वैशाख २० मा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको थियो ।
अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न, घरसारमा हुने लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउन ल्याइएको अध्यादेश वैशाख २४ मा दुवै सदनमा पेस भई जेठ ५ मा स्वीकृत भएको थियो ।
आजको सम्भावित कार्यसूचीमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० माथी विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि आजका लागि छ ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०, ०९:५४