काठमाडौँ । पूर्व परराष्ट्र मन्त्री तथा विभिन्न दलका नेताहरूले परराष्ट्र नीति तय गर्दा राष्ट्रिय हितलाई प्राथमिकता दिन नसकिएको बताएका छन् ।
नेपाल तथा एसियाली अध्ययन केन्द्र (सीनास) को ५२ औँ स्थापना वार्षिकोत्सव तथा परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराईद्वारा लिखित पुस्तक असंलग्न परराष्ट्र नीतिका विषयको पुस्तक विमोचन कार्यक्रमका सहभागीहरूले परराष्ट्र नीति तर्जुमा र कार्यान्वयनमा देशलाई केन्द्रमा राख्नुपर्नेमा त्यसो गर्नबाट चुक्ने गरिएको बताएका हुन् ।
कार्यक्रममा पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले राष्ट्रिय हितलाई प्राथमिकता नदिँदा नेपालको विकास नै प्रभावित भएको र नेपालको बेग्लै राजनीतिक सामाजिक र सांस्कृतिक उपस्थिति छायामा पर्ने गरेको बताउनुभयो । सरकार जुनसुकै दलको भए पनि राष्ट्रलाई फाइदा पुग्ने गरिको वैदेशिक नीति तर्जुमा र कार्यान्वयन गर्नुपर्ने भएपनि त्यसो हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । अहिले युवा निराश भएको, र सरकारप्रतिको भरोसा घट्दै गएको भन्दै उहाँले यो देशकै लागि गम्भीर चिन्ताको विषय भएको बताउनुभयो ।
पूर्व परराष्ट्र मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारका कतिपय निर्णयले असंलग्न परराष्ट्र नीतिको मूल मर्मलाई आत्मसाथ गर्न नसकेको हो कि भन्ने संकेत मिलिरहेको भन्दै त्यसो गरिए देशले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो । नेपालको सामरिक र भूराजनीतिक अवस्थाका कारण पनि कुनै पनि छिमेकीप्रति आशक्त हुन नहुने र सबैलाई समान दुरीमा राखेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । असंलग्न परराष्ट्र नीति भनेको मौन कूटनीति नीति नभई आफ्नो हितलाई केन्द्रमा राखेर निर्णय गर्नु रहेकाले सरकारले यो मूल मर्मलाई बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका विदेश विभाग प्रमुख राम कार्कीले समान कूटनीतिक नीति बनाउन र कार्यान्वयन गर्नमा आन्तरिक एकता पहिलो सर्त रहेको बताउनुभयो । यसका लागि सामाजिक विभेदको अन्त्य, समाजमा ज्ञानको महत्त्वमा वृद्धि, विश्वासको साटो वैज्ञानिक चिन्तनको प्रवर्द्धन, खोज तथा अनुसन्धानमा जोड जस्ता कुरामा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । बुद्धले विकाश गरेको पञ्चलशिलको सिद्धान्त मात्र नभएर अरू धेरै राम्रा नीति र दर्शनलाई विश्वभरि फैलाउन नसकिएको तर विदेशका कुरालाई अनावश्यक महत्त्व दिएर समाजमा स्थापित गराउन खोजिएको भन्दै उहाँले त्यसलाई सच्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पुस्तक लेखक भट्टराईले अहिले पनि असंलग्न परराष्ट्र नीति नेपाल जस्ता देशका लागि उपयोगी रहेकाे तर समयानुकुल यसका कतिपय मान्यतालाई पुनरपरिभाषित गर्नुपर्नेमा जोड दिनुभयो ।
सीनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले विश्वविद्यालयमा अनुसन्धानको शिर्षकका बजेट कटौती गरिएको र अनुसन्धानको महत्त्वलाई नै छायामा पारिएकोमा गुनासो गर्नुभयो । सीनासले सीमित श्रोत साधनबाट सकेसम्म धेरै प्राज्ञिक काम गर्ने प्रयास गरिरहेको उहाँको भनाइ थियो ।
प्रकाशित मिति: सोमबार, साउन १, २०८०, १८:०४