गोपाल बराइली
धनकुटा । धनकुटामा एउटा यस्तो गाउँ छ, जहाँ नेपाल एकीकरणदेखिको इतिहास पाइन्छ । दुई सय वर्ष पुरानो इतिहास र कलाकौशल देख्न पाइने यो गाउँ हो, मुगा । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको जन्म गाउँ समेत रहेको मुगा, गाउँको इतिहास र पहिचान भने संरक्षण अभावमा खण्डहर बन्दै गएको छ ।
सदरमुकाम धनकुटा बजारबाट उत्तर पश्चिमतर्फ गाडीमा झन्डै एक घण्टामा पुगिन्छ, मुगा गाउँ । पृथ्वीनारायण शाहको आदेशमा युद्ध लड्न सरदार रामकृष्ण थापा पोखराबाट गोरखा हुँदै धनकुटाको त्यही टाकुरीमा पुगेको र बसोबास गरेको मुगाली थापाको वंशावलीमा उल्लेख छ । स्थानीय कुमारबहादुर थापाका अनुसार कालान्तरमा यो गाउँ उनै रामकृष्णका दर सन्तानले भरियो र मुगाली थापा भनेर चिनिन थाल्यो ।
‘पृथ्वीनारायण शाहले नेपाल एकीकरणका बेला माझ किराँत जितेर हतुवा गढी र हतुवागढी जितेर अरुण तरेर मुगासम्म आइपुग्दा पृथ्वीनारायण शाह आफु फर्किएर रणबहादुर शाहलाई जिम्मा दिएको इतिहास छ । त्यो बेला गोर्खाली सेनाको कमान्डर सरदार रामकृष्ण थापा थिए । त्यो बेला पहिलो क्याम्प मुगाको राजदेवीमा खडा भएको हो’ कुमारबहादुरले भन्नुभयो ।
मुगामा बनेका ठुला र दरवारिया शैलीका घर निर्माणको कथा बेग्लै छ । थापाका अनुसार जुद्ध शमशेरले त्यो बेला चिनियाँ राजदूतावासबाट चियाको बिरुवा ल्याएका थिए । त्यो बिरुवा इलाम लगेर रोप्ने जिम्मा गज्राजङ थापालाई दिइएको थियो । त्यहाँबाट उहाँ फर्किएपछि कप्तान करवीर थापाले इलाममा चिया विस्तार गर्नुभएको कुमारबहादुर बताउनुहुन्छ ।
इलाममा बसोबास गर्दै जाँदा उहाँको आउजाउ दार्जिलिङतिर भइरहन्थ्यो । त्यही बेला दार्जिलिङबाट टाटाको टिन ल्याएर घर बनाएका थिए । त्यसपछि मुगामा दरबार शैलीका घरहरू बन्न थालेका हुन् । करवीरकै घर थापाहरूको मूल घर पनि हो ।
पाँच पटकसम्म नेपालको प्रधानमन्त्री बन्नुभएका स्व. सूर्यबहादुर थापा मुगामै जन्मिनुभएको हो । लप्टन टेकबहादुर थापाले बनाएको ५२ ढोका भएको थापाको त्यो ऐतिहासिक घर द्वन्द्वकालमा माओवादीले भत्काएको थियो । त्यसपछि पुनर्निर्माण नहुँदा अहिले अवशेष मात्रै बाँकी छ । सूर्यबहादुर थापा ट्रस्टको नामबाट पुरानै शैलीको घर बनाउने भनिएको वर्षा भए पनि अहिलेसम्म बनाइएको छैन ।
मुगाकै अजितनारायणसिंह थापाले भने आफू काठमाडौँमा बसे पनि आफ्नो पुरानो घर मर्मत गरेर संरक्षण गर्नुभएको छ । ‘अब त धेरैको घर भत्किसक्यो नि’ उहाँ भन्नुहुन्छ, ‘बचेका घरहरू पनि अब भत्किएलान् जस्तो छ ।’
मुगाली थापाले निर्माण गरेका दरबार शैलीका घरहरूले त्यसताकाको नेपाली कलाकौशल झल्काउँछन् । तर, उनीहरूको बसाईसराईपछि गाउँ सुनसान बनेको छ । पुराना संरचना रेखदेख गर्ने मानिसको अभावमा पनि घर भत्किएका छन् । २०४८ सालमा गाउँ छोडेका अर्जुन थापाले स्थानीय धनकुमारी भुजेललाई घर रेखदेखको जिम्मा दिनुभएको छ । ‘मैले त अलिअलि घर मर्मत त गर्छु । तर आफैँ गएर बस्न भ्याउँदिनँ’ थापाले भन्नुभयो ।
उहाँको घर कुरेर बस्नुभएकी भुजेलले आफूले घर कुरेबापत बारी कमाएर खाने गरेको बताउनुहुन्छ । ‘म यहाँ बसेको १६ वर्ष जति भयो । बारी खनजोत गरेर जे फल्छ त्यही पाइरहेकी छु, अरू त अहिलेसम्म केही दिएकै छैन’, उहाँले भन्नुभयो, ‘पुरानो घर मर्मत गर्ने भनेको धेरै भयो तर अहिलेसम्म बनाएको चाहिँ छैन ।’
मौलिक किसिमका घरहरू घुम्न जानेका लागि चासोका विषय बन्न सक्छन् । तर, संरक्षण र प्रचारमा कसैको ध्यान नपुग्दा, मुगा गाउँ नै ओझेलमा परेको छ । पुरातात्त्विक सम्पदा जोगाउन पहल नगरिएकोमा स्थानीय बासिन्दाको गुनासो छ । मुगाका पूर्णबहादुर राईले भन्नुभयो, ‘यत्रा घर थिए, कम्तीमा आफू नबसे पनि मर्मत मात्रै गरिदिए पर्यटक आउने थिए । तर, कसैले वास्तै गरेनन्, सबै भत्किए ।’
केही वर्ष अघिसम्म आन्तरिक पर्यटक पुगिरहने मुगा अहिले सुनसान छ । पहिले मुगामा निक्कै चहलपहल हुन्थ्यो । तर, ‘थापाकाजी’हरू विस्थापित भएसँगै गाउँ मृत जस्तै बनेको छ । थापाहरूले गाउँ छोडे पनि स्थानीय सरकारले बाँकी रहेका संरचना जोगाएर सडक बनाइदिए पर्यटक फर्काउन सकिने विश्वास स्थानीय बासिन्दाको छ ।
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०, १४:४३