काठमाडौँ । यसपालीको एसईई परीक्षामा प्रदेश २ को नतिजा सबैभन्दा कमजोर देखिएको छ ।
सङ्घीय राजधानीसमेत रहेको प्रदेश ३ को नतिजा सबैभन्दा अगाडि देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो एसईईको परीक्षाफल सार्वजनिक गरेको हो ।
नतिजाअनुसार १.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ८७.६४ प्रतिशत छ । गत वर्षको तुलनामा यो १० प्रतिशतले बढी भएको परीक्षा नियन्त्रक विष्णु अधिकारीले सीआईएनसँग बताउनुभयो ।
अनिवार्य गणितबाहेकका सबै विषयमा २५ पूर्णांकको प्रयोगात्मक नम्बरको व्यवस्था भएका कारण पनि यसपालीको नतिजामा केही सुधार जस्तो देखिएको हो ।
४ लाख ५९ हजार २ सय ७५ विद्यार्थीले परीक्षा दिएकामा मध्यमस्तरका १.६ देखि २.८ जीपीएसम्म प्राप्त गर्ने विद्यार्थीको संख्या धेरै छ । २ लाख ७० हजार अर्थात् ५९ प्रतिशतभन्दा बढी विद्यार्थीले मध्यमस्तरको जीपीए ल्याएका परीक्षा नियन्त्रक अधिकारीको भनाइ छ ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यार्थीले प्राप्त गर्ने ग्रेड खासै बढ्न नसकेको धारणा राख्नुभयो । कक्षा ११ मा भर्ना हुन कम्तीमा १.६ जीपीए ल्याउनुपर्छ । त्यसभन्दा कम जीपीए ल्याउने विद्यार्थीको संख्या १२ प्रतिशत छ ।
परीक्षामा सहभागीमध्ये ८ हजार ४ सय ६९ विद्यार्थीले विभिन्न कारणले कुनै पनि ग्रेड प्राप्त नगरेको परीक्षा नियन्त्रक अधिकारीले बताउनुभयो ।
७१ प्रतिशत सामुदायिक र २९ प्रतिशत विद्यार्थी निजी विद्यालयबाट परीक्षामा सहभागी भएकामा निजी विद्यालयका १४ हजार ७ सय ८८ विद्यार्थीले उच्च (३.६ देखि ४) जीपीए ल्याएका छन् । सामुदायिक विद्यालयतर्फ २ हजार ७ सय ९२ विद्यार्थीले मात्र उच्च जीपीए प्राप्त गरेका छन् ।
सार्वजनिक नतिजामा बढीमा दुई विषयमा ‘सी’ वा ‘सी’ भन्दा तल्लो ग्रेड प्राप्त गरेका वा दुई विषयसम्म अनुपस्थित भएका परीक्षार्थीले ग्रेडवृद्धिका लागि पुरक ग्रेडवृद्धि परीक्षा दिन सक्नेछन् । उक्त परीक्षाका लागि समयतालिका छिट्टै सार्वजनिक गरिने परीक्षा नियन्त्रक अधिकारीले सीआईएनसँग बताउनुभयो ।
चैत १० गते देखि परीक्षा सञ्चालन भएको थियो ।
सामुदायिक विद्यालयको गुणस्तर सुधार्न विशेष कार्यक्रम ल्याउनुपर्ने शिक्षाविद्हरुको सुझाव
शिक्षाविद्हरुले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि प्रदेश र स्थानीय तहले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।
सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर खस्कनुमा एउटा मात्रै कारण नरहेको भन्दै उनीहरुले शिक्षासँग सम्बन्धित सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका हुन् ।
सीआईएनसँग कुरा गर्दै शिक्षाविद् डा. सुमन तुलाधरले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी भर्ना गरेका अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक र सरोकारवाला अन्य निकायले नियमित छलफल र रचनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।
हिजो सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा १७ हजार ५ सय ८० विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएकोमा उनीहरूमध्ये निजी विद्यालयमा अध्ययन गरेका १४ हजारभन्दा धेरै विद्यार्थी छन् । सामुदायिक विद्यालयका जम्मा २ हजार ७ सय ९२ जना छन् ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६, ०९:०६