काठमाडौँ । भन्सार विभागले त्रिभुवन विमानस्थलबाट ठुलो परिमाणमा सुन बाहिरिएकोबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ।
भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो । समितिलाई पाँच दिनभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
राजस्व अनुसन्धान विभागले बुधवार बेलुका सिनामङ्गलबाट ठुलो परिमाणमा सुन बरामद गरेको थियो। विमानस्थलबाट जाँच पास गरेर ट्याक्सीमा लगिँदै गरेको सुन भन्सार विभागको टोलीले सिनामङ्गलबाट बरामद गरेको थियो । यो घटनामा अहिलेसम्म ६ जना पक्राउ परेका विभागले जनाएको छ ।
यसैबिच, विमानस्थलमा थप सुन हुनसक्ने आशङ्कामा विभागले अनुसन्धान अघि बढाएको छ । अहिले विभागको टोलीले विमानस्थलमा खोजतलास गरिरहेको छ ।
यसैबिच विभागले बरामद भएको सुनको परिमाण अहिलेसम्म एकिन नभएको बताएको छ । विभागका प्रवक्ता खड्काले बरामद सुन एकिन गरेर जोख्ने प्रकृया अहिलेसम्म पूरा नभइनसकेको सीआईएनसँग बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०, १४:५३