काठमाडौँ । वडाध्यक्षलाई नै सामुदायिक विद्यालयका विद्यालय व्यवस्थान समितिको अध्यक्ष हुने काठमाडौँ महानगरपालिकाको निर्णय विवादमा परेको छ ।
महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षहरुबाट सन्तोषजनक काम नभएको भन्दै गएको असार ३० गतेको नगरसभाले सबै विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने निर्णय गरेको थियो ।
काठमाडौँ महानगरको उक्त निर्णयका बारेमा धारणा तय गर्न हिजो ८९ विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षको बैठक बसेको थियो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष गुणराज मोक्तानले नयाँ व्यवस्था कार्यान्वयनमा आएमा विद्यालयमा अनावश्यक रूपमा राजनीति प्रवेश गर्ने र विव्यस अध्यक्ष तथा प्रधानाध्यापकबीच राजनीतिक द्वन्द्व बढेर समग्र शिक्षाको गुणस्तर नै प्रभावित हुने बताउनुभयो ।
उक्त निर्णयबाट महानगरपालिका पछि नहटेमा कानुनी उपचारमा जाने चेतावनी महासङ्घले दिएको छ ।
यसबारेमा महानगर उपप्रमुख सुनिता डङ्गोललाई हिजो ज्ञापनपत्र बुझाइएको अध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा अध्यक्ष नै स्वतः व्यवस्थापन समिति अध्यक्ष हुने प्रावधान खारेज गरेर अभिभावकमार्फत व्यवस्थापन समिति अध्यक्ष चयन हुने व्यवस्था हुनुपर्ने मागका बारेमा थप छलफल गर्ने उप प्रमुख डङ्गोलले आश्वासन दिनुभएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०, ०७:२६