काठमाडौँ । धार्मिक तथा सामाजिक सद्भाव र शान्ति अभिवृद्धि गर्नको लागि सबै धार्मिक सङ्घसंस्थाले सामूहिक अपिल गरेका छन् ।
धरान उपमहानगरपालिका वडा नं १४ विजयपुरको बालगोपाल मन्दिर नजिक (मण्डली भवन) चर्च निर्माणका सन्दर्भमा उठिरहेको विवाद समाधानका लागि महिला हिंसाविरुद्ध राष्ट्रिय अन्तरधार्मिक सञ्जाल (निरन ) नेपालले काठमाण्डौमा आयोजना गरेको विभिन्न धर्मका सङ्घसंस्थाकाको सामूहिक छलफलमा सबै धर्मबीच धार्मिक सद्भाव कायम राख्ने सहमति भएको हो ।
पछिल्लो समय धरान घटनाले धार्मिक सद्भावमा खलल पार्न सक्ने सम्भावना सृजना भइरहेको अवस्थामा सहमति र धार्मिक सद्भाव कायम गर्नको लागि विभिन्न धर्मका सङ्घसंस्थाका नेतृत्ववर्ग, धर्मगुरुहरू र धार्मिक अगुवा र सरोकारवालाबीच छलफल गरी साझा बुझाइका साथ सद्भाव कायम गर्नको लागि मातहतका सबैलाई आह्वान गरिएको निरन नेपालका अध्यक्ष भिक्षु पियदस्सी महर्जनले जानकारी दिनुभयो ।
भेलामा विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समिति, इस्लामी संघ नेपाल, अखिल नेपाल भिक्षु महासंघ, नेपाल राष्ट्रिय मण्डली संगती(एनसिएफ नेपाल), नेपाल पुरोहित संघ, वैदिक सनातन कर्मकाण्ड महासंघ नेपाल, ओशोधारा नेपाल, किराँत मुन्दुम संरक्षण समिति, श्री कृष्ण प्रणामी सेवा समिति नेपाल, बहाई धर्मका नेतृत्व तथा प्रतिनिधिको सहभागिता थियो ।
निरन नेपालका पदाधिकारीसमेतको सहभागितामा भएको छलफलपछि ५ बुँदे प्रतिबद्धता र अपिल पत्रमा हस्ताक्षर गरिएको थियो ।
भेलाले केन्द्रमा भएको एकता र सद्भावको सन्देश बुझेर धरानमा स्थानीय रूपमा पनि साझा बुझाइ बनाउँदै सद्भाव कायम गर्नको लागि सन्देश दिन सबै सङ्घसंस्थाकाले केन्द्रबाट अपिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
स्थानीयस्तरमा पनि साझा सहमतिको लागि छलफलको वातावरण बनाउनेसमेत सङ्घसंस्थाले प्रतिबद्धता व्यक्त गरेका छन् ।
राजनीतिक र समूहगत स्वार्थमा धार्मिक तथा सामाजिक सद्भाव भड्काउने र बहकाउने तत्वबाट सजग रहँदै चेतना अभिवृद्धि गर्न आफू मातहतका धार्मिक अनुयायीहरूलाई धर्मगुरुहरूले सामूहिक अपिलसमेत गरेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०, ११:५२