काठमाडाैँ । मिटर ब्याज पीडितको समस्या सम्बोधन गरी पीडकलाई कारबाही गर्ने प्रयोजनका लागि बनेको विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।
राष्ट्रिय सभाको आज (बिहीबार) को दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ २०८० पारित गरेको हो ।
यो विधेयक प्रतिनिधिसभाबाट पारित भई संशोधन र सन्देशसहित प्राप्त भएकामा राष्ट्रियसभाले संशोधन स्वीकार गरी पुनः पारित गरेको हो।बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सो विधेयकमाथि पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
विधेयकमाथि छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएकाले निर्णयार्थ प्रस्तुत गरी पारित गरिएको हो ।
यो विधेयक प्रमाणीकरणको प्रक्रियामा जाने सङ्घीय संसद् सचिवालयले जनाएको छ । यो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित पारित गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०, १४:०२