बाजुरा । लगातारको वर्षा र पहिरोका कारण बाजुरामा १३ घर परिवार विस्थापित भएका छन् । जिल्लाको गौमुल गाउँपालिकाका १२ र हिमाली गाउँपालिकामा १ घरपरिवार विस्थापित भएको स्थानीयबासीको भनाइ छ ।
हिजो आएको बाढी र पहिरोका कारण हिमाली अनि गौमुल गाउँपालिकामा १३ परिवार बिस्थापित भएका हुन् । दर्जनौ घर जोखिममा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार हिमाली गाउँपालिका– ३ युनामा हिजो घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
बुढाको घरसहित घरभित्र भएका अन्नपात, लुगा कपडा बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिंह कठायतले जानकारी दिनुभयो ।
पहिरोले घर बगाएपछि तीन जनाको परिवारको बिचल्ली भएको छ । उनीहरुको सुरक्षित बासका लागि वडा अध्यक्षसँग पहल भइरहेको प्रहरी निरीक्षक कठायतले बताउनुभयो ।
पहिरोका कारण सोही वडाका १० घर जोखिममा परेको प्रहरीको भनाइ छ । युनामा रहेको आधारभूत स्वास्थ्यचौकी पनि पहिरोको जोखिममा परेको छ ।
गौमूल गाउँपालिका–३ मा आएको पहिरोमा परी १२ परिवार विस्थापित बनेका छन् । पहिरोका कारण बेहरीका पाँच र ढल्काँडाका ७ गरी १२ परिवार विस्थापित भएका छन् ।
१२ परिवारका ६० जनाभन्दा बढीलाई विद्यालयमा सारिएको गौमुल गाँउपालिकाको कार्यालयले जनाएको छ ।
बाजुराको ९५ गाउँ उच्चजोखिममा रहेको सूची जिल्ला प्रकोप उद्धार समितिले तयार पारेको छ ।
प्रकाशित मिति: शनिबार, साउन १३, २०८०