तेह्रथुम । बजेट ल्याइसक्नुपर्ने भनेर कानुनमै तोकिएको समय १ महिना नाघिसक्दा पनि तेह्रथुमको म्याङ्लुङ नगरपालिकाले अझैसम्म बजेट ल्याउन सकेको छैन । अघिल्लो आर्थिक वर्षमा ऋण रहेको करिब तीन करोड रुपैयाँ चुक्ता गर्ने विषयमा कार्यपालिका सदस्यसँग मतभेद भएका कारण बजेट ल्याउन ढिलाइ भएको म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फे बताउनुभयो ।
आ.व.०७९/८० को चालुतर्फ २१ करोड रुपैयाँको कार्यक्रम तयार पारिएको तर चालु, वित्तीय समान करण र राजश्व बाँडफाँडको गरी नगरपालिकाको खातामा १८ करोड रुपैयाँ मात्र जम्मा भएकाले नयाँ बजेट निर्माणमा समस्या भएको नगर प्रमुख तुम्बाहाम्फेको भनाई छ ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहले असार १० गते भित्र बजेट ल्याउनुपर्ने र साउन लाग्नु अगावै पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । यसरी बजेट पारित भएपछि मात्रै त्यसअनुसार आगामी आर्थिक वर्षमा खर्च गर्न र कर उठाउने अधिकार प्राप्त हुन्छ ।
१० वटा वडा रहेको म्याङ्लुङ नगरपालिकाको नगर सभा ५५ सदस्यीय छ । हालसम्म बैठक भत्ता समेत नपाएको वडा नं. ५ का वडा अध्यक्ष राजकुमार सेनी लिम्बुले बताउनुभयो । “राज्यले तोकेको आफ्नो सेवा सुविधा त लिन नसक्ने हामी वडाध्यक्षले कसरी जनताको समस्या सम्बोधन सकिएला ?” उहाँले प्रश्न गर्नुभयो ।
नगरपालिकाले अनावश्यक अनुदान र चन्दा सहयोगको कामलाई प्राथमिकतामा राखेका कारण पालिकाले ऋण व्यहोर्नुपरेको म्याङ्लुङ–२ का वडाध्यक्ष हेमराज लिम्बुले बताउनुभयो । उहाँकाअनुसार अघिल्लो आर्थिक वर्षमा मेयरको तोक आदेशबाट धेरै खर्च भएको भन्दै मेयरले आफूखुसी खर्च गरेको ऋणमा आफूहरू भागिदार नहुने वडाध्यक्षहरूले बताउँदै आएका छन् ।
लेखा शाखाले समेत खर्चको विवरण लुकाउने गरेको र आफूहरूले पटक पटक माग गर्दा पनि लेखा अधिकृत गोपालकृष्ण लिम्बुले दिन नमानेको म्याङ्लुङ–१ का वडाध्यक्ष बुद्धिराज लिम्बुले बताउनुभयो । “पालिकाको भुक्तानी प्रतिक्रिया हामी वडाध्यक्षहरू नै बेखबर छौ” उहाँले भन्नुभयो । गत चैत यता पालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत तीन जना परिवर्तन भइसकेकोले कार्यालयको आर्थिक गतिविधि चित्तबुझ्दो नभएको कार्यपालिका सदस्यहरूको गुनासो छ ।
जिल्ला सदरमुकामसमेत रहेको म्याङ्लुङ नगरपालिकाले अन्य पालिकाको तुलनामा विकासे गतिविधि समेत गर्न नसकेको नगरवासीको गुनासो छ । आफ्ना बिभिन्न घरायसी समस्यालाई लिएर रकम माग्न नगरपालिका आउने जो कोहीलाई नगर प्रमुखले खाली हात नपठाउने प्रवृत्तिले नागरिकमा परनिर्भरता बढेको म्याङ्लुङ–२ का पदम तुम्बाहाम्फेले बताउनुभयो ।
नगरपालिकाका मेयर तुम्बाहाम्फेले साउन तेस्रो हप्तासम्म बजेट ल्याउने गरी तयारी गरिरहेको बताउनुभयो । अहिले देखिएको समस्या समाधान गरी नयाँ बजेट ल्याउनमा आफ्नो ध्यान केन्द्रित रहेको उहाँको भनाइ छ ।
समयमै बजेट ल्याउन नसक्दा स्थानीय सरकारले आवश्यक खर्च गर्न सक्दैनन् । स्थानीय सरकारहरू स्वायत्त भएका कारण बजेट समयमै नल्याउने स्थानीय सरकारलाई सङ्घले कानुनी रूपमा दण्डित भने गर्न सक्दैन । यो अवस्थामा स्थानीय सरकारबाट कार्यान्वयन हुने कार्यक्रम भने प्रभावित हुने गरेका छन् ।
जिल्लाका म्याङ्लुङ बाहेक अन्य पाँचवटै पालिकाले भने बजेट ल्याइसकेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०, १६:३०